स्वास्थमन्त्री गगन थापालाई बिरामी चेलीको मार्मिक पत्र

माननीय स्वास्थ्यमन्त्री
गगन थापाज्यू
नमस्कार।
खासमा जुन दिन मलाई भक्तपुर क्यान्सर हस्पिटलले मृत्युको पूर्जा दिएर घरमा बसेर मृत्यु कुर्न भन्यो। त्यो दिन, मेरो यो १९ वर्षे कलिलो मन कस्तो भयो होला। हजुरलाई के भनु म। तर, म त्यसदिन खुब रोए। धुरूधुरू रोए। नरोएर के गरू म। मेरो मुटु यति शोकाकुल र छियाछिया भएको थियो कि। त्यो कुरा शब्दमा कसरी लेखु म। बस रूने बाहेक मसँग केही थिएन उपाय। र अहिले पनि छैन।

मलाई हरेक मानिसलाई जस्तै बाच्ने, खेल्ने, रमाउने, घुम्ने अरू के–के रहरहरू थिए। तर जब हस्पिटलको मौखिक मृत्युको पुर्जी आयो। त्यसपछि म अबको पुग नपुग तीन महिना बाँच्छु अरे। यो कुराले हर रात। हर दिन मेरो मुटु घोचेको घोच्यै छ। म धेरै के पो बोल्न सक्छु र?
माननीय मन्त्री, त्यो दिन वा मेरो मरणको दिन सम्झन्छु। साच्चि त्यस दिन मेरा सारा आफ्त कसरी रोलान। कति भक्कानिएलान्। म कल्पनै गर्न सक्दिँन। मुख्य कुरा आफुले खाइनखाई यो उन्नाईस वर्षसम्म हुर्काउने मेरो बाआमा कति रोलान्। उनीहरुलाई सम्झाउने मानिसहरूले के भनेर सम्झाउँलान्। मैले सोचिरहेकी छु।

मलाई थाहा छ। म नेपालको कर्णाली भनिने भुगोलको जुम्ला जिल्लामा जन्मिए। हुर्के। जहाँ अनगिन्ती दुःखहरू छन्। अभावहरू छन्। जुन दुःख र अभावहरूले म जस्ता नागरिकहरूले केही न केही दुःखहरू पाइरहेका हुन्छन्। जस्तो कि म जब क्यान्सर रोगी भए। त्यसपछि आफैले अनुभव गरे। दुर्गम हर नागरिकका लागि कति पीडादायीक भुगोल रहेछ भनेर। अनि जब आफू बाँच्नका लागि हर मानिससँग आलाप विलाप गर्न थाले। बुझे मानिसका लागि दुर्गम शत्रु रहेछ भनेर। जे होस् मैले अनुभव गरेका कुरा सत्य छन्। र त त्यही कुराको प्रेरणाले आज तपाईँलाई मेरो मृत्युबारे जानकारी गराउन लागिरहेको छु। अनि यो पत्र सकिनसकि लेखिरहेको छु। कृपया मलार्इँ माफ गर्नुस् है।

मैले सानैदेखि तपार्इँको बारे सुनेको छु। तपाईँको बारे पढेको छु। तपाईं जस्ता अरू पनि धेरै मानिसहरू हुँदा हुन यो देशमा। तर नचिने पनि तपार्इँलाई नजिकको जस्तो लाग्यो। सम्झे तपाईँले कुरो बुझ्नु हुन्छ मेरो। अनि यो चिठी लेखेकी हुँ। खास तपाईंलाई पनि मेरो मृत्युको खबरबारे जानकारी गराएकी हुँ यसै पत्रबाट।

मलाईँ थाहा छ। म मेरै मृत्यु मर्न लागेको छु । तर, यति सानो उमेरमा म मर्न लागे। त्यस कुराले म साह्रै दुःखी छु। माननीय मन्त्रीज्यू, म पनि यही देशमा जन्मे। यही देशमा हुर्के। जहाँ तपाईं पनि जन्मनु भो र हुर्कनु भो। तर तपाईंलाई एउटा कुरा सोध्न मन छ। तपाईं बिरामी हुँदा वा विरामी लगेर हस्पिटल जाँदा हस्पिटलले कति माया गर्छ? कति सम्मान गर्छन्? तपाईँलाई याद होला। अनुभव होला। तर मलाईँ त त्यस्तो कुराको अनुभवै भएन। यादै भएन। र, त हजुरलाई मेरो मृत्युको जानकारी दिइरहेकी छु।

खासमा मैले धेरै दुःख पाएँ। धेरै आपत खेपे। पाएको दुःख सम्झिँदा लाग्छ। म यो देशको नागरिक हैन जस्तो। मेरो आँखाले कति हो कति बेथितिहरू देखे। त्यो बेथितिको सिकार म पनि भएँ। र, सम्झे बेथितिहरूले म जस्ता अरू अरु पनि दिनदिनै मरिरहेका होलान्। अनि मनमनै सम्झेर तपाईँलाई जानकारी गराउन मन लाग्यो। चिठी लेखिरहेकी छु।

हुन त म एक दिन मर्ने नै थिएँ। तर, केही समय चाँडै मर्ने भए। यसैले म दुःखी त छु भन्नै पर्यो। हो, म दुःखी छु अनि म मर्नु पहिले तपार्इँलाई भेटेर केही कुरा गर्न चाहन्छु। खासमा हाम्रो देशमा लापरबाही किन हुन्छ ? बुझेर मर्न चाहन्छु।

माननीय मन्त्रीज्यू। हुन त म बाँचेर पनि देशको लागि के गर्न सक्थे होला र। तर, म मर्ने पक्का भए पछि किन हो देशको हो या आफ्नो खुब माया लागिरहेको छ। किन हो खै। मैले देखेका बेथितिहरू प्रति मेरो मनमा धेरै घृणा छ। लाग्छ म अब त केही दिनपछि मर्छु पनि होला। तर, मैले मेरो उपचार गर्दा पाएको दुःख हजुरलाई सबै भन्न चाहन्छु। न कि म जस्ता यो देशका नागरिकले म जस्तो दुःख नपाउन। पीडा नपाउन। बेथितिको सिकारले मृत्यु नपाउन ।

तपार्इँलाई मेरा धेरै कुराहरू भन्नुछ। जुन कुराहरू म चाहेर पनि यस पत्रमा लेख्न सक्दिँन। भन्न सक्दिँन। घाउ पनि दुखेर बढिरहेको छ। पीडाले मुटु कापिरहेको छ। म योभन्दा बढि लेख्न सकिनँ। कृपया सक्नु हुन्छ भने म मर्नु पहिले म हजुरसँग सबै कुरा भन्ने समय पाउँ। सक्नु हुन्न भने यो काम चाहिं गरिदिनुहोला। देशका हर नागरिकलाई मृत्यु दिने बेथितिहरूको अन्तहोस्। लापरबाहीले एक वर्षपछि मर्ने नागरिक एक वर्ष अघि न मरोस्। नमस्कार।
सन्ध्या शाही, जुम्ला