लौ न प्रभु यतापनि ‘कुलमान’ जन्माई देऊ ! – अमृता लम्साल

amiritaगाडी चलाउनु वा हामी ‘गाडी हाँक्ने’ भन्छौं नि, एकै बाक्यमा ब्यक्त गर्नुपर्दा, यो पंक्तिकारको लागि ‘‘अनमेल विवाहमा फसेका दम्पतीको जीवन जस्तो हो, जसलाई विविध कारणबश संगै जीवन बिताउनु पार्ने बाध्यता पनि परेको हुन्छ, तर एउटै कोठामा पस्ने बित्तिकै श्वासै पनि गनाइहाल्छ । गाडीसंगको यो सम्बन्ध धेरै अगाडिदेखि सुरु हुन्छ । यसको प्रसंग झन्डै सत्र/अठार बर्ष अगाडि देखिनै सुरु भएको थियो । घरमा गाडी थियो, अनि चलाउने चालक पनि, त्यसैले एकदिन सोचियो, किन त्यो सुबिधाको सदुपयोग गर्दै गाडी नसिक्ने ? त्यो “सिक्नु“मा आवश्यकता होइन, चाहना लुकेको थियो, तत्कालीन समयमा यदाकदा मात्र महिलाहरू गाडी चलाएर हिंड्ने हुँदा सिकिहालौं न भन्ने लहडमा सिक्न थालियो ।

सिकाउने मान्छे कमका थिएनन्, त्यो बेलामा पैंसठ्ठी बर्षका रामेश्वर दाईलाई सन्तोष पन्तको “उमेर पैंसठ्ठी’’को नायकको बानी बेहोराले छोइसकेको थियो । उनी यति बिस्तारै गाडी चलाउँथे कि, अलि लम्किएर वा दौडिएर हिंड्ने मान्छे त उनले चलाएको गाडी भन्दा पहिल्यै गन्तब्यमा पुगिसक्थ्यो होला । उनी त्यो ब्यक्ति थिए, जसले तेन्जिङ्ग शेर्पा र सर एड्मन्ड हिल्यारीले सगरमाथा चढेर फर्किएपछि जाउलाखेल सुरु भएको नगर परिक्रमा कार्यक्रममा उनीहरू चढेको जीप चलाएका थिए रे ।  जतिबेला, यो पंक्तिकार जन्मनु त के कुरा बाबु–आमाको समेत विवाह नै भएको थिएन ।

रामेश्वर दाइलाई गुरु थापेर गाडी चलाउन सिक्ने काम सुरु भयो, हरेक दिन बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ लटमा गाडी सिक्न जान थालियो, त्यहाँ गाडी सिक्ने थुप्रै मानिसहरू देखिन्थे । अलिक दिन त्यसरी सिकेपछि मन हौसियो, “अब त आइहाल्यो नि’’ भन्ने सोचले दवाव दिन थाल्यो । आफूलाई त पार्किङ्ग लटमा धेरै फन्का लगाईसकेको गौरव थियो, किन सक्दिन त भन्ने । तर त्यो काँचो गाडी चालकलाई (आफैंलाई भन्न खोजेको) के थाहा, गाडी चलाउन सिक्दा खाली स्टेरिङ्ग घुमाएर मात्र हुन्न, सैद्धान्तिक ज्ञान र गाडी चलाउन प्रयोग गरिने बाटो, पार्ट–पुर्जाहरूको नाम, काम बारे पनि जानकारी लिनुपर्छ भनेर । अनि एक दिन बिहान, सोही पार्किङ्ग लटको दुई फन्का लगाएपछी, रामेश्वर दाइलाई प्रश्न ठड्याएँ,“म अब सडकमा लैजान सक्छु, लैजाउँ है ?“ उनले जवाफ दिए,“सक्नुहुन्छ भने लैजानुस ।’’ त्यसैले निकालें पार्किङ्ग लटबाट गाडी सडकतिर, अर्थात, अन्तर्राष्ट्रिय बिमानस्थलको भवन अगाडि झर्ना भएको साइडमास गाडीले त्यहाँको भुँई छुन पनि पाएको थिएन, अर्को तिरबाट हुँईकिदै आएको गाडीमा आँखा पर्‍यो । अनि त के चाहियो र । स्टेरिङ्ग समातेका हातहरू लगलग काँप्न थाले । गाडी हल्लिन थाल्यो † यो देखेर संगैको प्यासेन्जर सिटमा बसेका रामेश्वर दाइ कराउन थाले,“थिच्नुस् । थिच्नुस् भनेको ।’’

तर, यो पंक्तिकारलाई थाहा भएन के थिच्नुस् भनेको हो भन्ने, त्यसैले झन झन आत्तिएर एक्सिलटर जोड जोडले थिचे । अनि त के चाहियो र  गाडी सडकमा गुड्नुको सट्टा एकैपटक झर्नाको छेउको घाँसतिर बढ्यो, त्यसपछि बल्ल, रामेश्वर दाइले स्टेरिङ्ग समातेर गाडीको स्टार्ट बन्द गरे † धन्न गाडीले त्यो झर्नाका लागि बनाईएको इँटाको बनोटलाई नै चाहिं हान्न भ्याएन † तर त्यो स्थान घेरेको काँडेतार (त्यतिबेला त्यहाँ काँडेतारले बारिएको थियो) र काठका तीन–चार लठ्ठाहरू भने लडे । यत्तिकैमा प्रहरी आईहाल्यो, प्रहरी देख्ने बित्तिकै रामेश्वर दाइ पर गएर तमासे भएर उभिए । प्रहरीले उसको सा’प (डिएसपी) कहाँ लिएर गए, साथमा छोरो (आठ/नौ बर्षको हुँदो हो, जहाँ पनि सकेसम्म संगै हुन्थ्यो) लुरु लुरु पछि लाग्यो । सा’पले नाम/काम सोधे, अबदेखि पार्किङ्ग लटमा आएर गाडी नसिक्ने उपदेश दिए, अनि भने,“हेर्नुस, गाडी सिक्दा यस्तै हुन्छ, मैले पनि यस्तै गरेको छु । मेरो सम्पत्ति भएको भए म तपाइलाई यसै छाडिदिन्थें तर एरोड्रमको सम्पत्ति पर्‍यो, जति लाग्छ तिरिदिनुस् है।’’ उनको त्यस्तो दयावान कुरो नमान्ने त प्रश्नै उठेन । उनैले ती प्रहरीलाई आदेश दिए,“ए, उहालाई एरोड्रम अफिसर कहाँ लैजा ?’’

प्रहरीले अघि लगाउँदै एरोड्रम अधिकृत कहाँ पुर्‍याए । ती अधिकृतलाई प्रहरीले सबै कुरा भने, त्यसको लगत्तै यो पंक्तिकारले आफ्नो सफाई पेश गर्दै भनें, “जे हुनु त भैगयो, यसको लागि माफी चाहन्छु तर अहिले मैले पैसा लिएर आएको छैन, कति लाग्छ, घर गएर ल्याएर तिर्छु ।’’ हुन पनि, गाडी सिक्न गएको, बानेश्वरबाट बिमानस्थल टाढा पनि थिएन र एक पैसा बोकेको पनि थिएन । सबै कुरा सुनिसकेपछि, ती अधिकृतले नाम सोधे, नाम बताउने बित्तिकै अर्को प्रश्न गरे,“त्यो पुनर्जागरणमा लेख्ने (पुनर्जागरण साप्ताहिक) तपाई नै हो ? म त तपाईको लेखहरू मन पराएर पढ्ने गर्छु नि  ।’’ ओहो, अलिकति भएपनि आंत्तिएको मनलाई शान्ति मिल्यो । अन्त्यमा, उनले भने, “कार्यालय खुले पछि, के कति लाग्छ, हामी तपाईलाई खबर गरौंला अहिले जानुभए हुन्छ ।’’

पहिलो चरणमा दुर्घटनामा पुगेर पटाक्षेप भएको गाडी सिकाईको यात्रा फेरि एक दिन एक आफन्तको “राम्ररी सिकाईदिने’’ प्रस्तावका साथ शुरु भयो । दोश्रो चरणमा करीब पन्ध्र दिन जति बिहान बिहानै काठमाडौंको चक्रपथको फन्को लागाईदै थियो, केही कारणवश अकस्मात टुंग्याउनु पर्‍यो । त्यसपछि त कहील्यै “गाडी चलाउन सिक्ने’’ कौतुहलता पनि भएन, उत्सुकता पनि जागेन । बिक्रम सम्बत २०५७ चैत मसान्तको दिन “आ–मरिखा’’मा गरी–खान होस या मरि–खान होस, उडियो । नेपालमा जतिसुकै गरिखान सकें भनेर धक्कु लगाए पनि, अर्काको देशमा न खाना मीठो न पानी स्वादिलो ।  न भाषा मिल्दो न भेष † तर के गर्ने ? उपाय त केही थिएन ।

छोरीले आँटे पछि आँट्यो † अरु सबै कुरामा त समन्वय र सम्झौता गर्दै गइयो तर गाडी चलाउने हिम्मत भने जुटेन † झन्डै दुई बर्षसम्म गाडीको लागि छोरी मै निर्भर भएर समय गुजारियो । तर परिस्थितिलाई त्यो पनि सैह्य भएन, छोरीको अप्रत्याशित क्यानडा बसाई सराईपछि त “मर्ता, क्या न कर्ता †’’ भने झंै गाडी चलाउन नसिकी नहुने नै भयो ।‍ त्यसैले गाडी चलाउन सिक्ने तेश्रो चरणको यात्रा अपरिहार्य आबश्यकताले शुरु गरायो । दश दिनसम्म घन्टाको तीस डलर तिरेर दिनको दुई घन्टा गाडी चलाउन सिकेपछि, लाईसेन्सका लागि परीक्षा दिन गईयो, परीक्षामा पास पनि भइयो र लाइसेन्स पाइयो । तर गाडी चलाउन सक्छु भन्ने आत्मविश्वास….? नास्ती… लाइसेन्स लिएको एक महिना जतिपछि, बहिनीले एउटा गाडी ल्याइदिइन्स अब त साँच्चै चलाएर हिंड्नै पर्ने भयो † गाडी नहँुदासम्म त गाडी छैन भन्ने बहानामा तर्किन पाइन्थ्यो † अब त त्यो पनि पाइएन  ।

आफू बसेको सानो शहरमा चालीस माईल भन्दा बढीको बेगमा गाडी चलाउँदै, चलाउँदिन थिएँ, यस्तैमा एक दिन डाउन टाउन जानु पर्ने आबश्यक कार्य आईपर्‍यो । त्यहाँ जान फ्री–वे लिएर जानुपर्ने, त्यहाँको स्पिड लिमिट ६५ देखि ७५ माइल पर आवर (किलोमिटर होइन ) को गतिमा छ, त्यसमा पनि देब्रे या बीचकै लेनमा पनि मानिसहरू ८०/९० को स्पिडमा यत्तिकै चलाउंछन । साइड लाइट नै नदिई कुदाउँदै लेन बदल्छन् । यो सबै कुरा सम्झिसम्झि दुई दिनदेखि यति धेरै मानसिक दवाव परिराखेको थियो कि के बयान गरौं ।  त्यो देखेर छोराले, आफू पनि साथ गैदिने प्रस्ताव राख्यो । तर छोराको स्कूल छुटाउन मन लागेन, अनि उसलाई, “भैगो बाबु, म बिस्तारै गएर आउंछु ।’’ भन्ने जवाफ दिएँ । छोरालाई पनि थाहा थियो, प्यासेन्जर साइडमा कोही साथमा छ भने, अलिकति हिम्मत आउँछ भनेर । भोलिपल्ट, अरु दिन भन्दा पनि छिट्टै उठेर आफूलाई मानसिक रुपले तयार पारें पुरानो गाडी थियो, गाडीको हुड खोलेर इन्जिनको तेल र पानी चेक गरें, कत्ति नै अनुभवी चालक जसरी † सबै कुरा ठीक पारेर पुग्नु पर्ने समयभन्दा निकै अगाडि बाटो लागें, समयमै पुग्ने कोसिसमा ।

फिडरबाट फ्री वे छिर्न, ओभरहेड ब्रिजमा उकालो लागेर ओह्रालो झर्नु पर्दथ्यो, उकालो लागिसकेकी मात्रै थिएँ अगाडिको हुड खुलेर, विन्ड्शिल्ड त पुरै छेकिदियो ।  हे, भगवान, इन्जिनको तेल र पानी चेक गर्न खोलेको हुड राम्ररी लागेकै रहेनछ  । हात खुट्टा पुरै गलिहाले । अगाडि त पुरै छेकिइहाल्यो † गाडी ओरालोमा झर्दै थियो । साईडमा लागेर झ्याप्प ब्रेक हानेपछि ओर्लनु पनि परेन, ओरालोमा झर्दै गरेको गाडीको हुड आफैं ठूलो आवाज निकालेर बन्द भयो । एउटा आपत्बाट बचियो । यात्राको शुरुआत त त्यस्तो थियो । गाडी चलाउने सिलसिलामा धेरैपटक यता ठोक्काउने र उता ठोक्काउने, गाडी स्टार्ट नै भैरहेको हालतमा गाडीको ढोका लक गर्ने, पार्क गर्न लाग्दा ठोक्ने आदि आदि त मामुली नै भएका थिए, तर एकपटक जीरो माईलको नयाँ गाडी किनेर ल्याएको दुई महिना पनि नबित्दै आफ्नै घरको ग्यारेजमा पार्क गर्न लाग्दा ब्रेक थिचें भनेर सक्दो जोड लगाउँदै एक्सिलेटर थिचेर आफ्नै घरभित्रको ग्यारेज र डाईनिङ्ग रुम छुट्ट्याउने भित्ता ढलाएको अनुभव भने कहिल्यै बिर्सिन नसक्ने छ † त्यसैले सारांशमा भन्नुपर्दा गाडी चलाउने “प्रयास’’ अझै पनि “प्रयास’’ मै रहेको छ । तर यसको मतलव १२ वर्षसम्म गाडी नचलाएको पनि होइन । काठमाडौं फर्किएपछि, धेरै शुभचिन्तकहरूले गाडी किन्ने सुझाव दिनुभयो र अझै पनि दिंदै हुनुहुन्छ ।

तर आफूलाई भने सार्वजनिक यातायातमा ‘टेन्सन फ्री’ भएर यात्रा गर्न नै रमाइलो लाग्छ । बरु, कोइ ‘कुलमान’ जन्मिएला, जसले सर्वसाधारणबाटै पाँचसय वा एक हजार उठावोस् र पर्याप्त मात्रामा ठूला बसहरू चलाइ देओस् । अनि ती थोत्रा र अनुशासनविहीन भएर चलाइएका माइक्रो र थोत्रा बसहरूलाई खाल्टोमा पुरिदेओस् ।