नगद लाभांस र आइपीओमा नपरेको पैसा अनिवार्य बैंक खातामा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने नगद लाभांस सम्बन्धित व्यक्तिको खातामा जम्मा गर्न निर्देशन दिएको छ ।

त्यस्तै लगानीकर्ताले एफपीओ तथा आइपीओ भर्दा जुन खाता प्रयोग गरेका छन् सोही खातामा रकम जम्मा गरिदिनुपर्ने राष्ट्र बैंकले निर्देशन दिएको छ । अघि ५ लाख भन्दा बढीको भुक्तानी बैंक खाता र सो भन्दा कमको भुक्तानी नगद वा बैंक खातामा जम्मा गर्दै आएकोमा राष्ट्र बैंकको नयाँ निर्देशन अनुसार क, ख र ग बर्गका बैंक वित्तीय संस्थाले अनिवार्य रुपमा सम्बन्धित व्यक्तिको खातामा जम्मा गर्नु पर्ने छ ।

राष्ट्र बैंकको निर्देशनले लगानीकर्तालाई धेरै सहजता पुग्ने लगानीकर्ता घनश्याम दाहाल बताउदछन। ‘नगद लाभांस लिन र आइपियो र एफपियो नपरेको पैसा सिधै आफ्नै बैंक खातामा जम्मा हुने हुँदा अनावश्यक झन्झट र आर्थिक भारबाट मुक्ति मिल्ने भयो’ उनले भने ।

यस अघि १ सय रुपैयाँ लाभांसका लागी राजधानी आउनु परेको उनले बताए।  हाललाई यो नियम क, ख र ग वर्गका बैंक वित्तीय संस्थालाई मात्र अनिवार्य गरिएको र छिट्टै नै लघुवित्त र जलबिद्युत कम्पनीहरुलाई पनि यो नियम लागू गरिनु पर्ने दाहालले बताए ।