देशकै ठूलो विकास बैंक बन्दै भिबोर सोसाइटी डेभलपमेन्ट बैंक

काठमाडौँ । भिबोर र सोसाइटी डेभलपमेण्ट बैंकले शुक्रबारदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन्। भिबोर र सोसाईटी डेभलपमेन्ट बैंकलाई मर्जरका लागी नेपाल राष्ट्र बैंकले केहि दिन अघि मात्र अन्तिम स्वीकृति दिएको हो।

असार मसान्त भित्र एकीकृत कारोबार थालनी गर्ने गरी पुष ९ गते मर्जरमा गएका यी दुवै बैंकले ढिलो गरी राष्ट्र बैंकबाट मर्जरका लागी अन्तिम स्वीकृति पाएका हुन। मर्जरका लागी अन्तिम स्वीकृति पाएका दुवै बैंकले चुक्तापूँजीको हिसाबले देशकै सबैभन्दा ठूलो विकास बैंकको रुपमा एकीकृत कारोबार सुरु गर्न लागेका हुन् ।

मर्जरपछि दुवै बैंकले ‘भिबोर सोसाइटी डेभलपमेन्ट बैंक’ को नाममा संयुक्त कारोबार सुरु गर्ने छन। मर्जरपछी बन्ने ‘भिबोर सोसाइटी डेभलपमेन्ट बैंक’ को चुक्ता पुंजी १ अर्ब ८१ करोड रुपैयाँ पुग्ने छ। यो संगै बैंकले कैलाश विकास बैंकको १ अर्ब ५८ करोड चुक्ता पुंजीलाई उछिन्दै चुक्ता पुंजीमा देशकै ठुलो विकास बन्ने छ।

नेपाल राष्ट्र बैंकले राष्ट्रिय स्तरका विकास बैंकलाई चुक्ता पुंजी २ अर्ब ५० करोड पुर्याउनु पर्ने निदेशन दिएपछी दुवै बैंकले झन्डै ८ महिना अगाडी मर्ज हुने सम्झौता गरेका थिए। दुवै बैंकले सेयर स्वाप रेसियो, संचालक समिति तथा प्रमुख कार्यकारी अधिकृतको समेत टुंगो लगाइसकेका छन । संयुक्त कारोबारको तयारीमा रहेको नयाँ बैंकको अध्यक्षमा हाल सोसाइटी डेभलपमेन्ट बैंकका अध्यक्ष शुशीलराज पराजुली रहने छन् भने प्रमुख कार्यकारी अधिकृतमा हाल भिबोर विकास बैंकका प्रमुख कार्यकारी झलकप्रसाद खनालले रहने सहमती भएको छ ।

त्यस्तै मर्जरपछि बैंकको शाखा कार्यलाको संख्या ४२ र एक्सटेन्सन काउण्टर संख्या १ पुग्नेछ।  हाल त्रिपुरेश्वरमा मुख्य कार्यालय रहेको भिबोर र डिल्लीबजारमा मुख्य कार्यालय रहेको सोसाइटी डेभलपमेन्टको मर्ज पछि बन्ने संस्थाको रजिष्टर्ड  कार्यालय काठमाण्डौंको डिल्लीबजारमा रहेको अहिलेको सोसाइटी डेभलपमेण्ट बैंकको कार्यालय हुनेछ ।

अघिल्लो आर्थिक बर्षसंगको तुलनामा सोसाइटी डेभलपमेन्ट बैंकको खुद मुनाफा  घटेको छ भने भीबोर विकास बैंकको मुनाफा २८ प्रतिशत भन्दा बढीले बढेको छ ।