एनएमबी क्यापिटलले ल्यायो दोस्रो सामुहिक लगानीकोष

काठमाडौँ । एनएमबि हाईब्रिड फण्ड एल-एकले असी करोड रुपैयाँ बराबरको सामुहिक लगानीकोषको योजनाको आब्हानपत्र सार्वजनिक गरेको छ। एनएमबि बैंकको सम्पूर्ण स्वामित्वमा रहेको एनएमबि क्यापिटलले बन्दमुखि सात बर्षे योजनाका ८० करोड रुपैयाँको कुल आठ करोड इकाई भदौ २६ गतेदेखि बिक्री खुला गर्ने जनाएको छ ।

प्रति इकाई १० रुपैयाँका दरले बिक्रि खुला गरिएको ८ करोड इकाई मध्ये सर्वसाधारणका लागी ६ करोड ८० लाख कित्ता इकाई छुट्याइएको छ। बाँकी १ करोड २० लाख कित्ता इकाई एनएमबि बैंक र एनएमबि क्यापिटलका लागी छुट्याइएको छ। जस मध्य बैंकले १४ प्रतिशत र क्यापिटलले १ प्रतिशत इकाई लिने छन।  इच्छुक लगानीकर्ताले प्रति इकाई १० रुपैयाँका दरले न्युनतम १ सय इकाई र अधिकतम ८० लाख इकाईका लागी आवेदन दिन सक्नेछन।

एनएमबि हाईब्रिड फण्ड एल-एकको इकाई खरिदका लागी लगानीकर्ताले भदौ २६ देखि छिटोमा भदौ ३१ र ढिलोमा असोज ९ सम्म आवेदन दिन सक्ने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । इकाई खरिद गर्न इच्छुक लगानीकर्ताले एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौ तथा एनएमबि बैंकका सबै शाखा कार्यालय मार्फत आवेदन दिन सक्ने क्यापिटलले जनाएको छ। एनएमबि बैंकले यस अघि नै एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड-१ नामक सामुहिक लगानी कोष संचालन गर्दै आएको छ ।