दशैँमा मूल्य वृद्वि हुँदैन– मन्त्री बोहरा

काठमाडौं । आपूर्तिमन्त्री दीपक बोहराले यस वर्षको दशैँमा सम्पूर्ण नागरिकले मूल्य वृद्धिरहित दशैँका रुपमा मनाउन पाउने वताएका छन् । राष्ट्रिय उपभोक्ता मञ्चको ११औँ स्थापना दिवसका अवसरमा मंगलबार आयोजित एक कार्यक्रममा उनले दशैँ तिहारमा मात्र नभइ नियमित बजार अनुगमन गर्ने र नियमविपरित गएकालाई तत्काल कारबाही गर्ने बताए ।

“उपभोक्ता हितसम्बन्धी अब बन्ने नयाँ कानुन कडाभन्दा कडा हुनेछ,” मन्त्री बोहराले भने– “आर्थिकका साथै सामाजिक रुपमा समेत कडा दण्डसजायको व्यवस्था उक्त कानुनमा हुनेछ । कम्तीमा पनि १० लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्म आर्थिक जरिवाना र १० वर्षको जेल सजायको व्यवस्था गर्ने हो भने कानुन बाहिर कसैले जाने हिम्मत गर्दैनन् ।”

मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले उपभोक्तालाई आफ्नो अधिकारबारे झकझकाउने, व्यवसायीलाई प्रोत्साहित र खबरदारी गर्ने कामलाई निरन्तरता दिँदै आएको बताए । कार्यक्रममा मञ्चका मकवानपुर र सुनसरी शाखालाई सराहनीय कार्य गरेको भन्दै सम्मान गरिएको थियो । यसैगरी दुग्ध विकास संस्थान, सिताराम दूध उद्योग, अन्नपूर्ण पोष्ट दैनिकका पत्रकार राजेश बर्मा, सगरमाथा टेलिभिजनका जीतेन्द्र श्रेष्ठ, गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालालाई सम्मान गरिएको थियो ।