सनराइज बैंकले ३३.३३ प्रतिशत बोनश सेयर दिने

काठमाडौं, ३० भदौ । सनराइज बैंक लिमिटेडले ३३.३३ प्रतिशत बोनस सेयर दिने भएको छ । सञ्चालक समितिको २५० औं बैठकले आफ्ना शेयरधनीहरुलाई उक्त बोनस सेयर दिने निर्णय गरेको बैंकद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
नारायणी नेशनल फाइनान्स प्राप्ति गरेपछि यस बैंकको चुक्ता पूँजी ३ अर्ब ९७ करोड ६० लाख ४९ हजार ७४१ रुपैयाँ छ । बैंकले २०७३ आषाढ मसान्त सम्मको जगेडा कोष र आ.ब. २०७२/०७३ को मुनाफाबाट समेत गरि जम्मा १ अर्ब ३२ करोड ५३ लाख ४८ हजार ८०० रुपैयाँबाट ३३.३३ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।

साथै आयकर ऐनको दफा ४७ क अनुसार मर्जर तथा प्राप्ति गर्ने वित्तीय संस्थाहरुको हकमा दुईवर्षसम्म लाभांश बितरणमा लाभांश कर नलाग्ने व्यवस्था रहेको र गत आर्थिक वर्ष बैंकले नारायणी नेशनल फाइनान्सलाई प्राप्त गरेकोले उक्त व्यवस्था अनुसार शेयरधनीहरुको प्राप्ति अघिसम्म कायम शेयरमा लाभांश कर नलाग्ने तथा त्यसपछि प्राप्त गरेको शेयरको हकमा लाग्ने लाभांश कर सम्बन्धित शेयरधनीहरु स्वयंले ब्यहोर्ने गरि त्यस्तो कर रकम वोनस शेयर वितरण गर्ने वखत असुल गर्ने प्रस्ताव पारित गरिएको बैंकले जनाएको छ । साे प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात् बैंकको आगामी ९ औं वार्षिक साधारण सभामा अनुमोदनको लागि पेस गर्ने बैंकले जनाएको छ ।