अर्बौंको व्यापार हुँदा कर शून्य

सोलुखुम्बु । जिल्लाको खुम्बु क्षेत्र (नाम्चे र खुम्जुङ) मा स्टार होटलसरहको सुविधा र त्योभन्दा बढी महँगी छ । त्यहाँका अधिकांश होटल होमस्टेअन्तर्गत सञ्चालित छन् । सगरमाथाको आधार शिविरअन्तर्गत पर्ने ती गाविसमा सञ्चालित होटल तथा लजले वार्षिक करोडौँको व्यापार गर्दा पनि कर नतिरेको पाइएको छ ।

नाम्चे र खुम्जुङ गाविसमा ३२१ वटा होटल तथा लज रहेको गाविस सचिव विनोद बस्नेतले जानकारी दिए । ती होटलले वार्षिक करिब रु एक खर्बको कारोबार गर्छन । तर कारोबारबाट राज्यले भने ‘करिब शून्य’ कमाइ गरेको छ । राज्यको तर्फबाट व्यवसायीलाई सहज बाटो नबनाइदिएका कारण कर तिर्न नसकेको व्यवसायीहरूको भनाइ छ ।

बजार नियन्त्रण, भौतिक पूर्वाधार निर्माणजस्ता कुरामा राज्यको उपस्थिति शून्य रहेकाले राज्यलाई कर तिर्न व्यवसायीले कर तिर्न नचाहेको स्थानीय व्यापारी लामाकाजी शेर्पाकाे वताउँछन् । “राज्यले निभाउनुपर्ने दायित्व पूरा नगरेसम्म एकोहोरो कर मात्र तिर्न हामी बाध्य छैनौँ,” उनले भने। आफूहरूलाई राज्यले अन्याय गरेको आरोप समेत लगाए ।

साेलुमा एउटा अन्डाको मूल्य रु ७० छ भने ग्यासको मूल्य प्रतिसिलिन्डर रु १४ हजार पर्छ । “हामी रु १० हजार कर तिर्न यहाँबाट लुक्लासम्म हिँडेर जानुपर्छ । त्यहाँबाट हवाई जहाजमा काठमाडौँ अनि मोटर चढेर लहान, यो त अन्याय भयो हैन ?,” शेर्पाले आक्रोश पाेखे ।

सगरमाथा क्षेत्र पर्यटकको आकर्षक गन्तव्य हो । अत्यन्तै महँगो व्यापार हुने त्यस क्षेत्रमा सामान्यतया नेपाली पर्यटकको पहुँच छैन भन्दा पनि हुन्छ। हवाई यातायात एक मात्र विकल्प भएको उक्त क्षेत्रमा सामान ढुवानी अत्यन्तै महँगो छ । बर्सेनी चार महिना मात्र व्यापार हुन्छ । बाँकी समय ढोका थुनेर व्यवसायी काठमाडौँ  जान्छन् । तर पनि चार महिनामै अर्बौं व्यापार हुने ती होटललाई करको दायरामा छैनन् ।