हिमालय एयरलाइन्सले कोलोम्बो उडान भर्ने

काठमाडौँ  । हिमालय एयरलान्सले असोज १५ देखि काठमाडौबाट श्रीलंकाको राजधानी कोलम्बोमा सीधा हवाइ उडान गर्ने भएको छ। हिमालय एयरलाइन्सले मंगलबार काठमाडौमा पत्रकार सम्मेलन गरी काठमाडौं—कोलम्बो—काठमाडौँ हवाइ उडान संचालन गर्ने जानकारी दिएको हो।

काठमाडौ—कोलम्बो—काठमाडौ उडान सातामा तीन दिन संचालन गरिने हिमालय एयरलाइन्सका व्यापार विभागका महाप्रबन्धक राजु केसीले बताए। उनका अनुसार मंगलबार, विहीवार र शनिबार विहान ११:३० मा हिमालय एयरलाइन्सको जहाज कोलम्बो उड्ने छ भने कालेम्बोबाट अपरान्ह ४:१५ बजे फर्कने छ।

काठमाडौबाट इकोनोमी क्लासमा कोलम्बो जान २९ हजार १९१ रुपैयाँ तथा दुईतर्फी भाडा ५० हजार ४१ रुपैयाँ तोकिएको छ। यस्तै, बिजनेस क्लासको एकतर्फी भाडा ४९ हजार ३४१ रुपैयाँ तथा दुईतर्फी भाडा ८२ हजार २८१ तोकिएको एयरलाइन्सले जनाएको छ। एयरलाइन्सको १५८ सिटे एयरबसमा बिजनेस क्लासका ८ वटा तथा इकोनोमी क्लासका १५० सीट छन्।