श्रीलंकासँग पहिलोपटक सिधा हवाई उडान

काठमाडौँ । नेपाल र श्रीलंकबीचमा सिँधा हवाई सम्पर्क स्थापना हुने भएको छ । तीब्बत एयरलाइन्सको पनि लगानी रहेको हिमालय एयरलाइन्सले आफ्नो दोस्रो गन्तव्यको रुपमा असोज १५ बाट कोलम्बोमा उडान गर्ने भएसँगै नेपाल र श्रीलंकबीच प्रत्यक्ष हवाई सम्पर्क स्थापित हुने भएको हो ।

हालसम्म विभिन्न देशहरुलाई ट्रान्जिट प्वाइन्ट बनाएर आवतजावत गर्नुपर्ने बाध्यता रहँदै आएकोमा अक्टोबर १ अर्थात असोज १५ देखि सिधा उडान हुन लागेको हो । एयरबस ३२० सिरिजको नाइन एन एएलएएन कलसाईन भएको जहाजबाट हिमालयले यसअघि कतारको दोहामा दैनिक उडान भर्दै आएको छ ।

१ सय ५८ सिट भएको उक्त बिमानबाट हिमालयले अब हप्तामा ३ दिन श्रीलंकामा उडान गर्ने कमर्सियल महाप्रवन्धक राजु केसीले जानकारी दिए । उनका अनुसार मंगलबार, बिहीबार र शनिबार बिहान साढे ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान हुनेछ । सवा ३ बजे श्रीलंकाको राजधानी कोलम्बोमा विमान पुग्नेछ। पुनः सवा ४ बजे त्यहाँबाट उडान भई सवा ८ बजेतिर विमान काठमाडौं फर्किनेछ ।