एनसेल मेला भव्यरुपमा सम्पन्न

काठमाडौँ । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले देशका विभिन्न पाँच शहरहरुमा आयोजना गरेको एनसेल मेला २०७३ हजारौ दर्शक तथा आगन्तुकहरुको मन जित्दै भव्वरुपमा सम्पन्न भएको छ । नजिकिँदै गरेको चाडपर्वको अवसरमा आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग खुसीयाली साट्न र शुभकामना आदानप्रदान गर्न उक्त मेलाको आयोजना गरिएको हो ।

भाद्र ३० गते नारायणगढबाट शुरु भएको मेला शनिवार बिर्तामोडमा आयोजना पश्चात समापन भएको हो । मनोरञ्जनात्मक कार्यक्रमले भरिपूर्ण यो मेला असोज १ गते पोखरा, असोज ३ गते बुटवल र असोज ६ गते धरानमा आयोजना गरिएको थियो ।

चर्चित कलाकारहरु तथा संगीतिक समुहको प्रस्तुतीहरु, कमेडी, जादु, गेम स्टलहरु, किडस् जोन र फुड स्टलहरु मेलाका रहेका थिए । मेलाको प्रमुख आकर्षण रहेको कन्सर्टमा कलाकारहरु सुगम पोखरेल, शिव परियार, मिलन अमात्य, लाउरे र सांगितीक समुह एक्स ब्याण्डले पाँचै शहरका आगन्तुक तथा दर्शकहरुलाई आफ्नो उत्कृष्ट गीतहरु गाएर झुम्न, गाउन र नाच्न प्रेरित गरेका थिए । हजारौको संख्यामा उर्लिएको दर्शकहरुले गीत संगितको भरपुर आनन्द लिएका थिए ।

मेलामा हाँस्यकलाकार सन्दिप क्षेत्रीले आफ्नो प्रस्तुतीले सबैलाई हँसाएका थिए भने कलाकार रेमोन दास श्रेष्ठ र समृद्घी राईको प्रस्तुतीले दर्शकहरु उत्साहित भएका थिए । त्यसैगरी डिजे रुपेशको प्रस्तुतीले दर्शकहरुलाई मेला अबधिभर बाँधिराखेको थियो । कार्टुन्ज क्रुको प्रस्तुती र साँझको समयमा भएको युभि एन्जल्स्को विषेश प्रस्तुतीमा दर्शकहरु मन्त्रमुग्ध भएका थिए ।