कृषि विकास बैंकको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौँ  कृषि विकास बैंकको ५० प्रतिशत हकप्रद सुरक्षित गर्नका लागी आज आइतबार अर्थात असोज ९ गते अन्तिम दिन हो।  बैंकले ५० प्रतिशत हकप्रदका लागि असोज १० गतेका लागी शेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेकाले असोज ९ सम्म कायम शेयरधनीले मात्र हकप्रद पाउने छन ।

krishi

बैंकले प्रति कित्ता १ सय रुपैयाँका दरले १ अर्ब ९३ करोड रुपैयाँ बराबरको १ करोड ९३ लाख कित्ता हकप्रद जारी गर्ने तयारी गरेको छ। ५० प्रतिशत हकप्रद जारी गर्ने बैंकको प्रस्ताव धितोपत्र बोर्डबाट असोज २ गते स्वीकृत भैसकेको छ। हकप्रद निष्काशन बारे बैंकले केही जनाएको छैन।   असोज  ९ सम्म कायम शेयरधनीहरुले बैंकको ५० प्रतिशत हकप्रद पाउने छन। ५० प्रतिशत हकप्रद वितरणपछि बैंकको चुक्ता पुंजी ५ अर्ब ७९ करोड रुपैयाँ पुग्नेछ । हाल बैंकको चुक्ता पुंजी ३ अर्ब ८६ करोड रुपैयाँ रहेको छ।

राष्ट्र बैंकमा बुझाएको पुंजी वृद्धि योजना अनुसार बैंकले आफ्ना शेयरधनीहरुलाई यो बर्ष ११ प्रतिशत बोनस शेयर दिने छ।   बैंकको अग्राधिकार शेयरलाइ चुक्ता पुंजीमा गणना गर्न नपाइने व्यवस्थापछी बैंकले राष्ट्र बैंकले तोकेको ८ अर्ब चुक्ता पुंजी हकप्रद, बोनस र अन्य विकल्पमार्फत पुंजी बढाउन लागेको हो।  बैंकको कुल चुक्ता पुँजी ९ अर्ब ८६ करोड ८ लाख रहेको छ । यसमध्य साधारण शेयर पुँजी ३ अर्ब ४२ करोड ४० लाख छ भने नेपाल सरकारको अग्राधिकार शेयर ६ अर्ब ४३ करोड ६८ लाख रुपैयाँ रहेको छ ।

गत आर्थिक बर्षमा बैंकले २ अर्ब ५७ करोड खुद नाफा आर्जन गरेको थियो। बैंकले यस अवधिमा ८७ अर्ब २६ करोड ३४ लाख रुपैयाँ निक्षेप संकलन गरी ७९ अर्ब ७५ करोड १८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। यस अवधिमा बैंकको खराब कर्जा अनुपात १.५ प्रतिशतले घटेर ३.८५ प्रतिशतमा पुगेको छ।  यस अवधिमा बैंकको प्रति शेयर आम्दानी ५५.६४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १३ दशमलव ८० गुणा, प्रतिशेयर नेटवर्थ ३०३.१५ रुपैयाँ रहेको छ ।