मञ्जुश्री फाइनान्सको १४ प्रतिशत बोनस शेयर

काठमाडौँ । मन्जुश्री फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ। फाइनान्सको असोज १२ मा बसेको संचालक समितिको बैठकले आफ्ना शेयरधनीहरुलाई गत आर्थिक बर्षको कमाइबाट १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शुन्य दशमलब ७४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

money

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र फाइनान्सको आगामी बार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा लाभांश वितरण हुने छ। राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८० करोड पुर्याउने योजना अन्तर्गत फाइनान्सले गत साता मात्रै १७५ प्रतिशत हकप्रद वितरणको अनुमतिका लागि धितोपत्र बोर्डमा आबेदन दिएको छ। फाइनान्सले ४३ करोड ८६ लाख ३७ हजार ५ सय रुपैयाँ बराबरको ४३ लाख ८६ हजार ३ सय ७५ कित्ता हकप्रद शेयर निष्काशन गर्ने तयारी गरेको हो ।

१४ प्रतिशत बोनस शेयर र १७५ प्रतिशत हकप्रद वितरणपछि फाइनान्सको चुक्ता पुंजी करिब ७३ करोड रुपैयाँ हाराहारी पुग्ने छ। हाल फाइनान्सको चुक्ता पुंजी २५ करोड ६ लाख ५२ हजार रुपैयाँ रहेको छ ।