शिखर इन्स्योरेन्सको ६० प्रतिशत बोनस शेयर

काठमाडौँ । शिखर इन्स्योरेन्स लिमिटेडले गत वर्ष झैँ यो वर्ष पनि आकर्षक लाभांश घोषणा गरेको छ। कम्पनीको सोमबार बसेको संचालक समितिले आफ्ना शेयरधनीहरुलाई गत बर्षको कमाइबाट र जगेडा कोषबाट ६० प्रतिशत बोनस शेयर दिने प्रस्ताब गरेको जनाइएको छ ।

shikhar

उक्त प्रस्ताव नियमन निकाय बिमा समिति र कम्पनीको आगामी बार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुने छ। संचालक समितिको बैठकले कर प्रयोजनका लागी नगद लाभांश समेत छुट्याएको बताईएको छ।  ६० प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पुंजी ८१ करोड ५८ लाख रुपैयाँ पुग्ने छ। हाल कम्पनीको चुक्ता पुंजी ५० करोड ९८ लाख रुपैयाँ रहेको छ।  गत आर्थिक बर्ष कम्पनीले ३१ करोड २ लाख ६८ हजार रुपैंया खुद नाफा आर्जन गरेको थियो ।

जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १० करोड रुपैयाँले बढी हो।  कमाई र कारोबारमा उल्लेख्य प्रगती गर्दै लगानीकर्तालाई आकर्षण लाभांश खुवाउन सकेको शिखर इन्स्योरेन्सले गत आर्थिक बर्ष जगेडा कोष रकम समेत अढाई सय प्रतिशतले बढाउन सफल भएको थियो। अघिल्लो आर्थिक बर्षको १२ करोड ४४ लाख रुपैयाँ जगेडा कोष रकम अढाई सय प्रतिशतल बढाएर कम्पनीले ४५ करोड ९४ लाख रुपैयाँ पुर्याउन सफल भएको छ ।

गत आर्थिक बर्ष झन्डै ४५ प्रतिशतले खुद नाफा बढाउन सफल बनेको कम्पनीले कम्पनीको क्षमता अनुसार बोनस शेयर वितरण गरेर चुक्ता पुंजी बढाउने बताउदै आएको थियो। अघिल्लो आर्थिक बर्षमा आकर्षक बोनस शेयर वितरण गरेको कम्पनीले यस बर्ष समेत लगानीकर्ताको अपेक्षा भन्दा बढी बोनस शेयर दिने निर्णय गरेर यस वर्षपनि निर्जिबन बिमा कम्पनीमा आकर्षक बोनस शेयर दिने सुचिमा अग्रणी बन्ने संकेत देखाएको छ ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ६०.८५ रुपैयाँ, मूल्य आम्दानीको अनुपात ५३ दशमलव ४ गुणा र प्रतिशेयर नेटवर्थ २८२.६१ रुपैयाँ रहेको छ ।