नेपाल एसबिआई बैंकको २८ प्रतिशत बोनस शेयर र एफपीओ

काठमाडौँ । नेपाल एसबिआइ बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ। बैंकको असोज १७ मा बसेको संचालक समितिको बैठकले आफ्ना शेयरधनीहरुलाई गत आर्थिक बर्षको कमाइबाट २८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलब ५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

SBI-bank-logo

त्यस्तै सोहि बैठकले संस्थापक र साधारण शेयरको अनुपात मिलाउन भन्दै ६७ हजार ७ सय ८७ कित्ता शेयर फर्दर पब्लिक अफर (एफपीओ) पनि जारी गर्ने निर्णय गरेको छ । सामान्य तया संस्थापक र साधारण शेयर अनुपात मिलाउनका लागी संस्थापक शेयरलाई साधारणमा रुपान्तरण गर्ने प्रचलन छ। राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउनका लागि बोनस र एफपीओको बाटो समातेको बैंकको उक्त प्रस्ताब भने सम्बन्धित निकायबाट अनुमोदन हुन बाँकी छ ।

एफपीओ वितरणपछि बैंकको संस्थापक र साधारण शेयर अनुपात ७० र ३० प्रतिशत हुने जनाइएको छ। एफपीओ जारी गर्ने निर्णय गरेपनि कतिमा गर्ने भन्ने बारे बैंकले केहि खुलाएको छैन।    बैंकले गत आर्थिक बर्ष १ अर्ब ३३ करोड रुपैयाँ नाफा आर्जन गरेको  थियो । २८ प्रतिशत बोनस शेयर वितरणपपछि बैंकको चुक्ता पुंजी ४ अर्ब ९६ करोड रुपैयाँ पुग्ने छ।

हाल बैंकको चुक्ता पुंजी ३ अर्ब ८८ करोड रुपैयाँ रहेको छ।    भारतको संयुक्त लगानीमामा नेपालमा रहेको नेपाल एसबिआइ बैंकले नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउनका लागि ३ अर्ब ३ करोड रुपैयाँ बराबरको पुंजी थप गर्नु पर्ने छ। बैंकले हाल नेपालभर रहेका ३ क्षेत्रीय कार्यालय सहित ७३ शाखा कार्यालय र ८६ वटा एटिएम मार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा उपलब्ध गराउदै आएको छ ।