प्रभु इन्स्योरेन्स र वेस्टर्न डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन

काठमाडौँ । प्रभु इन्स्योरेन्स र वेस्टर्न डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य समायोजन गरिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। प्रभु इन्स्योरेन्सले  लगानीकर्तालाई १७ प्रतिशत बोनस शेयर दिने प्रस्ताब गरेको छ भने वेस्टर्न डेभलपमेन्ट बैंकले शत प्रतिशत हकप्रद निष्काशन गर्ने तयारी गरेको छ।

१७ प्रतिशत बोनस शेयर समायोजन पछि प्रभु इन्स्योरेन्सको प्रित कित्ता समायोजित शेयर मूल्य १५५६ रुपैयाँ र आधार मूल्य ९६२ रुपैयाँ कायम गरिएको छ।  त्यस्तै १०० प्रतिशत हकप्रद समायोजन पछिको वेस्टर्न डेभलपमेन्ट बैंकको प्रति कित्ता समायोजित शेयर मूल्य ३३६ र आधार मूल्य ३३१ रुपैयाँ कायम गरिएको छ।

कात्तिक १ सम्म कायम शेयरधनीले मात्र प्रभु इन्स्योरेन्स र वेस्टर्न डेभलपमेन्ट बैंकको क्रमश: बोनस र हकप्रद पाउने छन। प्रभुले कात्तिक १२ का  लागि साधारण सभा डाकेको छ। १७ प्रतिशत बोनस शेयर वितरणपछि प्रभुको चुक्ता पुंजी ३८ करोड ५० लाख १५ हजार रुपैंया पुग्नेछ। हाल प्रभुको चुक्ता पुंजी ३२ करोड ९० लाख ७३ हजार रुपैंया रहेको छ।

कात्तिक १२ मा बस्ने प्रभु इन्स्योरेन्सको साधारणसभाले ५० प्रतिशत हकप्रद शेयर निष्काशन प्रस्ताब पारित गर्दै छ। बोनस शेयरपछि कायम हुने चुक्ता पुंजीको ५० प्रतिशत हकप्रदपछि प्रभुको चुक्ता पुंजी ५७ करोड ७५ लाख रुपैयाँ पुग्ने छ । त्यस्तै वेस्टर्न डेभलपमेन्ट बैंकले प्रती कित्ता १ सय रुपैयाँका दरले १५ करोड ६९ लाख रुपैयाँ बराबरको १५ लाख ६९ हजार ६ सय कित्ता हकप्रद जारी गर्न लागेको हो।

शत प्रतिशत हकप्रद वितरणपछि बैंकको चुक्ता पुंजी ३१ करोड ३८ लाख रुपैयाँ पुग्ने छ। हाल बैंकको चुक्ता पुंजी १५ करोड ६९ लाख रुपैयाँ रहेको छ। गत आर्थिक बर्ष बैंकले ४ करोड २ लाख खुद नाफा आर्जन गरेको थियो ।