‘आइएमई-ग्लोबल आइएमई आकांक्षा छात्रवृत्ति’का लागि आवेदन खुला

काठमाडौँ । आइएमई तथा ग्लोबल आईएमई बैंकले हिसान तथा प्याब्सनको सहकार्यमा ‘आईएमई-ग्लोबल आईएमई आकांक्षा छात्रवृत्ति’ का लागि आवेदन आहृवान गरेको छ । छात्रवृत्ति अन्तर्गत सार्वजनिक, नीजि तथा सामुदायीक विद्यालयमा कक्षा १ देखि ११ कक्षासम्म अध्ययनरत आर्थिक रुपमा विपन्न तर जेहेन्दार विद्यार्थीलाई शैक्षिक सत्र २०७३ का लागि छात्रवृत्ति प्रदान गरिने छ ।

विद्यार्थीहरुको उज्ज्वल भविष्यको आकांक्षालाई साकार पार्न सहयोग पुर्‍याउने उद्वेश्यले छात्रवृत्तिको आवेदन मागिएको आइएमई तथा ग्लोबल आईएमई बैंकले जनाएका छन् । आईएमई लिमिटेड तथा ग्लोबल आईएमई बैंकबाट व्यवस्थापन मिलाइने कुल दश लाख छात्रवृत्ति कोषबाट एक शैक्षिक सत्रका लागि एक सय जना विधार्थीलाई छात्रवृत्ति प्रदान गरिने छ ।

इच्छुक विधार्थीले यी संस्थाका वेब साईट एवंम् एजेण्ट आउटलेटमा उपलब्ध फारममा आफ्नो विवरण भरी कम्तिमा दुई बर्ष अघिदेखिका शैक्षिक प्रमाणपत्र र सम्बन्धित विधालय प्रधानाध्यापकको सिफारिस सहित आवेदन दिन सक्नेछन् ।

फारम आफुलाई पायक पर्ने आईएमई सेन्टर, एजेन्ट आउटलेट, आइएमईका क्षेत्रीय सम्पर्क कार्यालय एवम् ग्लोबल आइएमई बैंकका सबै शाखा कार्यालय वा एक्सटेन्सन काउण्टरहरु मार्फत् वा ईमेल ठेगाना aakanshya@imeremit.com.np मा पठाउन सकिने आइएमईले जनाएको छ । कात्तिक ३० गतेसम्म आवेदन दिनुपर्ने छ ।