वाइवाइको उत्पादन अव युरोपमा

काठमाडौं । चौधरी गु्पले युरोपमा  वाइवाइको उत्पादन र वितरणको तयारी तीव्र बनाएको छ । युरोपेली राष्ट्र सर्वियाको रुमा शहरमा वाइवाइ प्लान्ट स्थापनाको कार्य अन्तिम चरणमा पुगेको छ । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले सर्वियाको राजधानी बेल्ग्रेडमा सर्वियाका प्रधानमन्त्री अलेक्ज्याण्डर भुसिक र उर्जा, पर्यटन तथा कृषि मन्त्रीहरुसँग र रुमा शहरका मेयर स्लोदान म्यान्सिकका साथ शिष्टाचार भेट गर्दैउक्त अवसरमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीलगायत ग्रुपका उच्चपदस्थ अधिकारीहरुको पनि उपस्थिति थियो । 

‍‍‍साे भेटमा प्रधानमन्त्री भुसिकले सर्वियामा वाइवाइ प्लान्ट स्थापना गर्ने योजना ल्याई लगानी विस्तार तथा रोजगारी सिर्जना गरेकोमा चौधरी ग्रुपलाई धन्यवाद दिए । विश्वव्यापीरुपमा सर्वियाको वैदेशिक लगानी विस्तारका लागि सहयोग गर्न समेत आग्रह गरे । त्यस्तै मेयर म्यान्सिकले सर्वियाको स्थानीय सरकार उद्यमीहरुसँग सहकार्य तथा सहयोगका लागि तयार रहेको बताउँदै चौधरी ग्रुपलाई उद्योग स्थापनाका लागि धन्यवाद व्यक्त गरे ।

वार्षिक २ अर्व २० करोड विक्री भैरहेको वाइवाइले विश्व तयारी चाउचाउ बजारको २.२ प्रतिशत हिस्सा ओगटेको कम्पनीले वताएकाे छ । नेपालमा ६ र भारतमा ८ प्लान्टमार्फत उत्पादन भैरहेको नेपालको सर्वाधिक लोकप्रिय वाइवाइले भारतीय तयारी चाउचाउ बजारमा २७ प्रतिशत हिस्सा लिएकाे छ । बंगलादेश, केन्या तथा साउदी अरेवियामा पनि वाइवाइका प्लान्टहरु स्थापना गर्ने तयारीमा चौधरी ग्रुप रहेको छ । प्लान्टको स्थापनासँगै विश्वभरका ३० मुलुकका उपभोक्ताले रुचाएको वाइवाइको व्यवसायिक उत्पादन सर्वियामा चाँडै शुरु हुनेछ । यहाँबाट युरोपेली बजारमा वितरण शुरु गरिनेछ । युरोपेली महाद्वीपमा चौधरी ग्रुपको यो पहिलो उद्योग हुनेछ ।