सुन तस्करी गर्ने उम्कन पाउँदैनन्

काठमाडौं  । उपप्रधान तथा गृह मन्त्री विमलेन्द्र निधिले सुन तस्करी संगठित अपराध भएको बताएका छन् । व्यवस्थापिका संसद् अर्थ समितिको बुधबारको बैठकमा यस्ता अपराधिक क्रियाकलापमा संलग्न व्यक्ति जस्तोसुकै र जुन ओहोदाको भए पनि नछाड्ने उनले बताए ।
यसको अनुसन्धान गरेर अपराधिलाई कारबाही गर्न आफू पछि नहट्ने उनले बताएका छन् । उनले भने, ‘अपराधिलाई कठघरामा ल्याउन र सुन तस्करी नियन्त्रणका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई आवश्यक पर्ने स्रोत, साधन÷प्रविधि उपलब्ध गराउन सरकार जुनसुकै बेला तयार छ ।’ उच्च सुरक्षा निकायबीच आयात भएको सुन भोलिपल्ट त्रिभुवन विमानस्थलभन्दा बाहिर समातिनु लज्जास्पद भएको र सरकारको ध्यान यसमा केन्द्रित भएको उनले बताए । लेखा समितिको बैठकमा मन्त्री निधिले तस्करको मुख्य योजनाकार जोसुकै भए पनि बाहिर ल्याउनुपर्ने र त्यसका लागि नयाँ संठगनबाट अनुसन्धान र छानबिन गर्नुपर्ने बताए । तस्करीको छानबिन गर्न अहिले सीआईबी जतिको अन्य निकाय नरहेको बताउँदै उनले भने, ‘’छानबिनका लागि नयाँ समिति आवश्यक पर्दैन ।’

बैठकमा उपप्रधान तथा अर्थ मन्त्री कृष्णबहादुर महराले सरकारले अपराधिलाई कुनै हालतमा पनि उम्कन नदिने बताए । ‘सरकारले जतिसक्दो छिटो दोषी पत्ता लगाएर कारबाही गर्नेछ,’ उनले भने, ‘अपराधिलाई कानुनमा ल्याउन जो भए पनि छुट्दैनन् ।’ गत बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको ३३ किलो सुन बरामद भएपछि अहिले यसको सूक्ष्म अनुसन्धानमा सीआईबी लागेको छ । ‘त्यस दिन समातिएका सुन तस्करले आफू ११ औं पटक समातिएको बयान दिएपछि सीआईबी मुख्य योजनाकार समक्ष पुग्ने प्रयासमा छ । त्रिभुवन विमान स्थलमा अर्थ, गृह रक्षा र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सेवा दिइरहेका छन् । त्यहाँ हुने हरेक क्रियाकलापमा त्यहाँ खटिएका कर्मचारी नै बढी जिम्मेवारी हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव टंकमणि शर्माले बताए ।

अघिल्लो दिन आयात भएको सुन भोलिपल्ट भेटिनुमा भित्रि संलग्नता भएको उनको ठहर छ । ‘३३ केजी सुनको मालिक को हो ? यो पहिलो पटक थियो की अन्तिम पटक, हाम्रा कर्मचारी सरकारको काम गर्दैछन् की अर्कैको ? उनले प्रश्न गरे । उनीमात्र होइन ३३ किलो सुनको असली मालिक को हुन् यसको पत्ता लगाउनुपर्नेमा बैठकमा उपस्थित सबैको जोड थियो । पर्यटन सचिव शंकरप्रसाद अधिकारीले लगेजमा आएको सामान आफ्ना कर्मचारीलाई जाँच गर्ने अधिकार नभएको बताए । उनले भने, ‘कन्भेयर वेल्टसम्म लगेज ल्याउने काम हाम्रा कर्मचारीको भए पनि त्यसपछिको काम भन्सारले गर्छ ।’ बैठकमा नेपाल वायु सेवा निगमका अध्यक्ष सुगतरत्न कंसाकारले विदेशबाट २४ वटा एयरलाइन्सका ६÷७ हजार लगेज आउने भएकाले कुन ब्यागमा के छ भनी कर्मचारीले ख्याल गर्न नभ्याउने बताए । बैठकमा सांसद् इच्छाराज तामाङले लगेजमा २० किलोभन्दा बढी सामान राख्न नपाउने भन्दै त्यो सुन उत्पत्ति स्थानबाटै सेटिङ मिलाएर आएको ठोकुवा गरे । विमानस्थलमा विभिन्न निकायका कर्मचारी रहन्छन् त्यसैले त्रिभुवन विमानस्थलमा पनि अन्तराष्ट्रिय स्तरको सञ्चालन कार्यविधि बनाउनुपर्ने उनले बताए ।

सांसद कमला पन्तले पनि सुन तस्करीको उच्चस्तरीय गिरोहको खोजी गरिनुपर्नेमा जोड दिइ्न् । सांसद विदुर सापकोटाले सुन तस्करी राजनीतिक मिलेमतोमा भएको बताए । सांसद केशव बडालले राष्ट्रिय स्वाधिनता तथा निष्ठामा आँच ल्याउन यस्तो कार्य भएको उल्लेख गरे ।
बैठकमा राजस्व सचिव राजन खनाले समितिले दिएको निर्देशनअनुसार कर्मचारीलाई काममा नखटाउँदा अप्ठ्यारो पर्ने बताए । समितिले विमानस्थल भन्सारमा सबै कर्मचारीलाई काम नखटाउन निर्देशन दिएको थियो । सुन तस्करका बेला कार्यरत कर्मचारीलाई सोही दिनदेखि काममा नखटाइएको उनले जानकारी दिए । विमानस्थलमा तीन सिफ्टमा काम हुने गरेको छ । एक सिफ्टमा ३३ जान कर्मचारी खटिन्छन् । अर्थ सचिव शान्तराज सुवेदीले जाँचमा भन्सारका मात्र नभइ अन्य निकायका कर्मचारीको पनि संलग्न रहने बताए । समितिका सभापति प्रकाश ज्वालाले विमानस्थलका कार्यरत कर्मचारीबीच समन्वय नभएको बताउँदै यी निर्णय गरेका छन् । यसैबीच अर्थ समितिले विमानस्थलमा हुने राजस्व चुहावट र सुन तस्करीको छानबिनका लागि अधिकार सम्पन्न समिति गठन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । यसैगरी विमानस्थलमा आवश्यक प्राविधिक जनशक्ति उत्पादन र आपूर्तिको व्यवस्था तत्काल गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । अर्थ समितिले विमानस्थलमा हुने राजस्व चुहावट र सुन तस्करीको छानबिनका लागि अधिकार सम्पन्न समिति गठन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।