एक खर्ब ३० अर्ब ७४ को लागतमा परियोजना “आलु जोन” सुरु

भक्तपुर, २८ पुस । कृषि विकास मन्त्रालयअन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (आलु जोन) सुरु भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आयोजित कार्यक्रममा आलु जोन क्षेत्रको घोषणा गर्नुभएको हो । परियोजनाअन्तर्गत यस आवमा जिल्लाका लागि रु दुई करोड ९५ लाखको बजेट विनियोजन भएको कृषि विकास कार्यालयका प्रमुख पूर्ण ढु्ङ्गानाले बताउनुभयाे । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना यसै आवदेखि सुरु भई आगामी २०८२ असारसम्म सञ्चालन हुने वतार्इएकाे छ ।

नेपाललाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले देशभर लागू भएको १० वर्षे परियोजनाका लागि कुल रु एक खर्ब, ३० अर्ब, ७४ करोड २० लाख खर्च हुने परियोजना प्रमुख अच्युत ढकालले जानकारी दिनुभयो । चालु आवमा देशभर रु पाँच अर्ब ७८ करोड ६२ लाख ७५ हजार बजेट विनियोजन गरिएको छ । कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित आधुनिक, व्यावसायिक, दिगो एवम् मुलुकको कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने परियोजनाको उद्देश्य रहेको मध्यमाञ्चल क्षेत्रीय कृषि निर्देशनालयका क्षेत्रीय निर्देशक मीनप्रसाद बुढाथोकीले बताउनुभयो । परियोजना शुभारम्भ कार्यक्रममा सांसद प्रेम सुवालले समेत आफ्नो धारणा राख्नुभएको थियो ।