आर्थिक रुपान्तरण विना देश विकास हुन सक्दैन

अनिल केशरी शाह प्रमुख कार्यकारी निर्देशक, मेगा बैंक

अनिल केशरी शाह
प्रमुख कार्यकारी निर्देशक, मेगा बैंक

महिलाहरुले आर्थिक क्षेत्रमा पुर्याएको योगदानलाई अहिले उच्च नै मान्नुपर्छ ।  महिलाहरुलाई वैदेशिक रोजगारीमा पठाउनेहरु धेरै छन् । मेरो आमाले सन् १९५० मा लोकसेवा आयोगबाट परराष्ट्र मन्त्रालयमा काम गर्न सुरु गर्ने बेलामा महिलाहरु धेरै कम थिए । तर मेरो आमाको संघर्षलाई मैले बच्चैदेखि हेर्दै आएको छु । यस्तै संघर्षबाट उहाँ पहिलो महिला राजदूत पनि हुनुभयो । यसैकारण मेरो दृष्टिकोण फरक छ । मैले जहिले पनि आमा बूवाले सँगै काम गरिरहेको देखेकाले महिलाले काम गर्न सक्दैनन् भन्ने मलाई लाग्दै लाग्दैन । हाम्रो बैंकमा पनि म पछि २ जना सिनीयर महिलाहरु नै हुनुहुन्छ ।
हामीकहाँ महिला भन्ने वित्तिकै आमा भन्ने बुझिन्छ । आमाको काम भनेको घरैमा बस्ने, खाना पकाउने, सबैको हेरविचार गर्ने व्यक्तिकारुपमा हेरिन्छ । हामी अधिकांसको मान्यता भनेको महिलालाई हेर्ने दृष्टिकोण संकुचित छ । हामी त्यहि अवस्थामा रहन बाध्य छौं । तर अहिलेको अवस्था भनेको विस्तारै मेरो परिवारमा जस्तै हुँदै गईरहेको छ । साँच्चै भन्दा अहिलेको जेनेरेसनमा पुरुष, महिला भन्ने केहि भिनन्ता देख्दिन म । नत महिला म आफै कमजोर छु भन्ठान्छन् नत पुरुषले महिलालाई कमजोर नै ठान्दछ । हरेक क्षेत्रमा पुरुष जत्तिकै महिला सक्रिय छन् । आर्थिक अवस्था पनि उनीहरुको राम्रो हुँदै गईरहेको छ ।

अहिलेको जनेरेसनमा खासै असमानता छैन । झण्डै ५०÷५० प्रतिशत महिलाहरु सहभागी छन् । अवसर नपाएको पनि म मान्दिन । अब आउने दिनहरु कठिन हुन सक्छन् तर अहिलेको अवस्थामा भने महिलाहरुलाई अवसर पाउन केहि कठिन भएतापनि अवसर दिन नखोज्ने भन्ने मलाई लाग्दैन । महिला पुरुष असमान व्यबहार हुनुका पछाडि पुरुषको मात्रै नभई महिलाको पनि बराबरी हात छ । महिलाहरु चुलोचौकोमा नै रमाउन खोज्ने भएकाले पनि समस्या उत्पन्न भएको हो । हामीकहाँ विशेषगरी महिलाहरुलाई घरको काम गर्ने व्यक्तिकारुपमा लिने गरिन्छ । अर्कोतर्फ महिलाले काम गरेर कमाएको पैसा सित्तिमित्ति पुरुषले प्रयोग गर्न चाहँदैनन् । यसो गर्दा आफू महिला भन्दा कमजोर भएको महशुस गर्दछन् । तसर्थ हरेक पक्षबाट महिलाले पछाडि पर्नुपर्ने अवस्था सिर्जना भएको हो । यो एउटा पक्ष हो ।
अर्को पक्ष भनेको महिलाहरुको उत्साहजनक अवस्था हेर्दा अब महिलाहरु कुनैपनि पक्षबाट कम छैनन् भन्ने प्रष्ट हुन्छ । हाम्रो पुरुषवादी समाज भएकाले पनि जुनसुकै क्षेत्रमा पुरुषहरु नै हावी हुन खोज्ने अवस्था पनि छ । यसबाट अघि बढ्न चाहने महिलाले कहिलेकाहिं अवसर नपाउने अवस्था पनि हुन सक्छ तर पनि पहिलाको भन्दा अहिले हरेक क्षेत्रमा महिलाहरुको उपस्थिति निकै उत्साहजनक छ । हाम्रोजस्ता देशहरुमा विशेषगरी पुरुषको तुलनामा महिलाहरुको अवस्था निकै जटिल छ । विहान उठेदेखि रातीसम्म महिलाहरु पुरुषको तुलनामा कयौं गुणा बढी काम गर्छन् । काम गरेर जस नपाउने एउटा कुरा हो । तर मरी मरी काम गर्ने हामीकहाँ महिला नै हुन । सबैलाई थाहा भएकै कुरा हो घर होस् वा बाहिर कामका लागि तयार हुने महिलाहरु नै हुन्छन् । यसबाट पनि बुझ्न सकिन्छ की हामीकहाँ महिलाहरु कति प्रेसरमा काम गर्न बाध्य छन् भनेर । अमेरिकामा पनि महिलाहरु बाहिर निस्कन थालेको पहिलो विश्व युद्ध पछि नै हो । जव पुरुषहरु युद्धका लागि बाहिर जान थाल्छन् अनि मात्रै महिलाहरु अगाडि आएका हुन । तर अहिले त महिलाहरु चाहेर वा नचाहेरै भएपनि काम गर्न थालेका छन् । यतातिर महिलाले समयअनुसार हरेक स्थानमा पुरुषसँग बराबरी हुनु पर्ने अवस्था छ भने अर्कोतिर घरायासी काममा समेत समय दिनु परिरहेको छ ।

वैदेशिक रोजगारीमा जाने भनेको नेपालमा रोजगारीको अवस्था सिर्जना नभएरै हो । यदि हाम्रो नेपालमा नै बसेर रोजगारीको अवसर सिर्जना हुने भए बालवच्चा र परिवार छोडेर कोहि पनि विदेश जाँदैन । त्यस्तै महिलालाई पनि आफ्नो श्रीमान् छोडेर वैदेशिक रोजगारीमा जान कहाँ मन हुन्छ र ?
मेरो बुवा डब्लूएचओको डाक्टर हुनुहुन्थ्यो र आमा पर्यटनमा हुनुहुन्थ्यो । त्यसैले मलाई बाल्यकालदेखिनै राम्रोसँग थाहा छ, वैदेशिक रोजगारीमा जाने परिवारमा के वितिरहेको हुन्छ भनेर । म ९ वटा विभिन्न मुलुकमा पढ्ने शिलशिलामा पुगेको थिएँ । कहिले बुवासँग त कहिले आमासँग । मेरो समयमा त एकदमै कम थियो तर अहिले त लगभग हरेकजसो घरबाट कोही न कोही वैदेशिक रोजगारीमा गएकै हुन्छ । म कहिले बुवासँग कहिले आमासँग बस्दाखेरि धेरैले तिम्रो बुवा आमाको डिभोर्स भएको हो भनेर सोध्ने गर्नुहुन्थ्यो । अभिभावकसँग त म कहिले पनि सँगै बसेको छैन । अभिभावक सँगै नहुँदाको जीवन साँच्चै कष्टकर हुन्छ । त्यसमाथी सन्तानले आफ्ना बाबूआमासँगै बस्न नपाउनु झनै दुखद हुन्छ ।

हामीले अहिले राजनीतिक रुपान्तरण नै सबैथोक हो भनिरहेका छौं । तर आर्थिक रुपान्तरण विना देश विकास हुन सक्दैन । राजनीतिक रुपान्तरण भयो भने के पट्रोलको लाईन कम हुन्छ ? राजनीतिक रुपान्तरणले के एयरपोर्टको लाइन कम हुन्छ ? त्यसैले सबैभन्दा पहिले हामीले बुझ्नुपर्ने कुरा भनेको देशको आर्थिक अवस्थालाई बलियो बनाउनेतिर लाग्ने हो । यसका लागि ५ वटा कुरामा ध्यान दिनुपर्छ । ति भनेका कृषि, पर्यटन, पूर्वाधार, हाइड्रो, सेवा र जनशक्ति नै हुन । यी खम्बाहरुमा ध्यान दिन सक्ने हो भने आर्थिक छलाङ मार्न सकिन्छ । यी पाँचवटै क्षेत्रमा लाग्ने हो भने देश विकास टाढा छैन । यदि कृषिमा क्रान्ति गर्ने हो भने हामी किसान हुनुलाई पनि गर्वकारुपमा लिन्छौं । गोरुले हैन ट्रयाक्टरले जोत्ने हो भने कृर्षिमा क्रान्ति गर्न सकिन्छ । समग्रमा भन्नुपर्दा देशको आर्थिक अवस्था उन्नत बनाउनतर्फ लाग्नुपर्छ । सम्पादकसँगकाे कुराकानीमा आधारित