सहकारीका सुधारात्मक र सफलताका विषयहरु सञ्चारमाध्यममा आउनुपर्छ

सिन्धुलीको सुनाम पोखरी गाविसमा २०२९ सालमा जन्मिएका सिताराम काफ्ले रोयल बहुउदेश्यीय सहकारीका प्रबन्ध निर्देशक हुन् । काफ्ले बुवा कृष्णप्रसाद काफ्ले र आमा दुर्गादेवी काफ्लेका चौथो सन्तानकारुपमा जन्मिएका हुन् । ९ जना सन्तानमा ५ जना दिदीबहिनी र ४ जना दाजुभाई मध्ये सहकारी क्षेत्रमा लागेका काफ्ले नेपाल कमर्स क्याम्पसमा एमबीए दोस्रो वर्षको जाँच सकेका बेला सहकारी क्षेत्रमा लाग्ने सोंच आएको बताउँछन् । उ बेला पढाईसँगै आफ्नो भविष्य कता लाने त भन्ने सोच राख्दा राख्दै सबैभन्दा राम्रो, उदाउँदो र समूहमा मिलेर काम गर्ने ईच्छा भएकाले सहकारी क्षेत्रतिर प्रवेश गरेकोमा अहिले भने गर्व लागेर आएको उनी वताउँछन् । सहकारी क्षेत्रमा लामो अनुभव सँगालेका सिताराम काफ्लेसँग सम्पादक कल्पना शर्माले गरेको कुराकानी

अध्ययन गर्दा गर्दै सहकारी क्षेत्रनै रोज्नुको कारण के हो ?
म एमबीए अध्ययन गर्दा गर्दै सहकारी क्षेत्रमा प्रवेश गरेको हुँ । त्यो बेला आफ्नो भविष्य कतातिर लाने त भन्ने चिन्ता पनि थियो । साथीभाईसँगको छलफल पनि भविष्यमा के गर्ने त भन्नेमैं केन्द्रित हुने गथ्र्यो । हामीमध्ये केही साथी कलेज पढाउने, कोही गाउँमै पुगेर जागीर खाने, कोही भने सरकारी जागीर खाने भन्दै लोकसेवा आयोगको तयारीमा थिए । यही विचमा मैले सहकारीको विषयमा थोरै मात्रै जानकारी लिएको थिएँ । साथीहरुले जागीर खाने कुरा गरिरहँदा भने मलाई जागीर खाने होईन, खुवाउने सोच आयो । त्यो समयमा पनि नेपालमा धेरै बेरोजगारीको समस्या थियो । वास्तवमा आफुपनि रोजगार हुने र अरुलाई पनि रोजगारी दिने हिसाबले रोयल सहकारी ०५४ बाट सुरु गरेर २०५५ बैशाख ९ गतेबाट अनामनगरमा कारोबार आरम्भ गरेका हौं ।DSC07811

त्यसोभए सुरुदेखिनै रोयल बहुउदेश्यीय सहकारीमानै आवद्ध हुनुभयो ?
रोयल बहुउदेश्यीय सहकारीकोे म संस्थापक अध्यक्ष हुँ । २०५५ मा अनामनगरमा कार्यालयको स्थापना गरेर २५ जनाले १० ÷१० हजार जम्मा पारेर जम्मा २ लाख ५० हजारको पूँजीबाट सुरु गरेका हौं । ०५५ देखि ०५७ सम्म यसको कार्य क्षेत्रलाई अलि फराकिलो बनाएर अघि बढ्यौं । यसको क्षेत्रलाई शहरमा मात्रै सञ्चालन गरेर हुँदैन, गाउँ गाउँमा पुर्याउनुपर्छ भनेर रोयललाई देशभरी लैजाने सोंच बनायौं । त्यहि अनुसार देशका विभिन्न स्थानमा शाखा विस्तार गर्यौं ।DSC07819

सहकारीलाई जिल्ला जिल्लामा विस्तार गर्न नपाईने नियम छ नी, फेरी कसरी देशका विभिन्न स्थानमा शाखा विस्तार गर्नुभयो ?

मैले अहिलेको होईन ०५५ सालतिरको कुरो गर्दैछु । हामीसँग एमबीए पढेका साथीहरुको संख्या धेरै थियो । यसको कार्यक्षेत्रलाई फराकिलो बनाउने सोंच साथीहरुमा पलाएको थियो । सोही क्रममा पोखरा दुलेगौडा, तनहुँ, स्याङ्जा, हेटौडा, नारायणघाटलगायतका जिल्लाबाट शाखाहरु विस्तार गर्नका लागि अनुरोध आएको थियो । साथीहरुको सुविधा र स्थानीयस्तरमा सहकारीको भुमिका अत्यन्तै प्रभावकारी हुने भएकाले तनहुँ, स्याङ्जा, हेटौडा, नारायणघाट, ललितपुरमा गरी विभिन्न १० स्थानमा शाखा खोल्यौं । पछि ०५७÷०५८ सालतीर खासगरी वित्तीय सहकारीमा विकृतिहरु आए । तर हामीले सञ्चालन गरेको रोयल सहकारीमा सम्बन्धित विषयमा अध्ययन गरेका युवाहरुको संख्या धेरै थियो । हाम्रो सहकारीको अवस्था निकै नै राम्रो थियो । त्यहिबीचमा सहकारीसम्बन्धि नकारात्मक प्रचार भए ।DSC07823

सबै सहकारी खराब थिएनन् । तर सहकारी भनेको खराब नियत भएकाले खोल्ने भन्ने खालको जनमानसमा भ्रम फैलाउने काम भयो । सहकारीमा यस्तो खालको समस्या आएकाले हामीले नयाँ ढंगले सोच्न थाल्यौं । एउटा मात्र शाखा कमजोर भयो भने ंसंस्थालाई समस्या हुन्छ भनेर हामीले सहकारी विभाग÷सहकारी संघसंग छलफल गर्यौं । अन्त्यमा हामी शाखाकारुपमा भन्दा पनि स्थानीय सहभागीता गरेर स्थानीय सहकारीकोरुपमा विकास गर्ने सोच बनायौं । स्थानीय ब्यक्तिहरुसँग सहकार्य गरेर स्थानीयस्तरको पुँजी स्थानीय व्यक्तिहरुको सहभागितामा नयाँ संस्था दर्ता गरी अगाडि जाने सोच बनायौं । यसले स्थानीय व्यक्ति र पूँजीको परिचालन गर्ने, त्यहिंका स्थानीयलाई सदस्य बनाउने उदेश्यले जिल्ला जिल्लामा शाखा होईन सहकारीनै खोल्यौं । पहिले काठमाडौंको मानिसले खोलेको संस्था भन्ने थियो तर अहिले स्थानीय व्यक्तिबाट सञ्चालित भएकाले स्थानीयलाई आफ्नो भन्ने अनुभूति भयो । DSC07848
रोयलको वार्षिक साधारणसभामा नीतिगत निर्णय अनुसार देशभरी रहेका शाखाहरुलाई स्थानीय सहभागीता जुटार्ई र स्थानीय सहकारीकोरुपमा विकास गर्ने भनेर नीतिगत निर्णय गर्यौं । ०५८ पश्चात् अहिले हाम्रो कुनैपनि शाखा छैन ।

रोयल सहकारीको आर्थिक अवस्था कस्तो छ ?
हाल सहकारीको कारोबार बढाउँदै लगेर ३२ करोडको कारोबार गरिरहेका छौं । अहिले हाम्रो आफ्नै साततले भवन छ । जसमध्ये २ तला हामीले प्रयोग गरिरहेका छौं । अरु भाडामा दिएर महिनाको २ लाख ५० हजार आम्दानी गरिरहेका छौं । १८ वर्षको अबधिमा हामीले धेरै आरोह अवरोह पार गरेका छौं । हाम्रो विशेषता भनेको हामी अनुकलतामा फैलन सक्छौं र प्रतिकूलमा खुम्चिन सक्छौं । जुनसूकै अवस्थामा पनि हामी अस्तित्व वचाउन सक्छौं । आर्थिकरुपमा हामी समृद्धितीर उन्मुख छौं । देशभरीनै सेवा प्रदान गरिरहेका छौं ।

अहिले नेपालको सहकारीको अवस्था कस्तो छ, भन्दिनुस् न ?
नेपालको सहकारी क्षेत्र निकै उन्नत स्तरमा त पुगिसकेको छैन । असाध्यै कमजोर अवस्थामा पनि छैन । धेरै उल्लेखनीय काम गरेकाले सहकारीले धेरै सफलता पनि पाएको छ । तरपनि केही खराब काम पनि यो क्षेत्रमा भएका छन् । ०४८ देखि ०७२ सम्म सरकारले सहकारीमा परिवर्तन ल्यायो । करिब २१—२२ वर्षको अवधिमा ३१ हजारभन्दा बढी सहकारी संस्थाहरु रहेका छन् । ०४८ साल अगाडि नेपालमा ८३० वटा मात्रै सहकारी थिए । अहिले जिल्ला जिल्लामा मात्रै होईन गाउँ गाउँमा पनि सहकारी स्थापना भएका छन् । सहकारीले गाउँ गाउँमा रोजगारी प्रदान गरेको छ । हजारौं महिलालाई आय आर्जनमा मद्धत गरेको छ । अबको समय भनेको सहकारीलाई दीगो, गुणात्मक तथा गतिशील बनाउँदै लैजानुपर्छ ।। यसका सेवा सुविधा अब गुणात्मक तथा लक्षित वर्ग, समूदायमा केन्द्रित हुनुपर्छ । तुलनात्मकरुपमा भन्नुपर्दा केही वर्षअघिको भन्दा यो क्षेत्र उन्नत हुँदै गएको छ ।

उन्नत पनि भएको होला तर सहकारी क्षेत्रलाई बद्मासी गर्नेले बद्नाम पनि बनाए, यो क्षेत्रमा भएको गलत प्रवृत्तिलाई पनि स्वीकार्नुपर्छ हैन ?
म सहकारी क्षेत्रमा भएकाले राम्रो भन्न खोजेको हैन । सत्य कुरा लुकाएर लुक्ने पनि होईन । मेरो त्यो चाहना पनि होईन । केहीले सहकारी खोलेर नराम्रो काम पनि गरेका छन् । जसका कारण सम्पूर्ण क्षेत्रमा नै नराम्रो सन्देश गयो । फेरी नराम्रो काम गर्ने सहकारी क्षेत्रमा मात्रै होईन हरेक क्षेत्रमा छन् । त्यसैले केही सहकारी ब्यवस्थापकीय ज्ञानको अभावमा डुबेका छन् । सहकारीमा दूरदृष्टि, दक्ष इमान्दार कर्मचारी र सदस्यहरु भएमा कुनैपनि सहकारी असफल हुने कुरै आउँदैन ।

खराबी सँगसँगै देश विकासमा यो क्षेत्रले पुर्याएको योगदान पनि ठूलो छ हैन ?
यो क्षेत्रका खराबी पनि होलान् तर सहकारीले गरेको काम बैंक तथा अन्य बित्तीय संस्थाले गर्न सकेका छन् त ? जतिसुकै गाली गरेपनि सहकारीले गाउँ गाउँमा काम गरेका छन् । खासमा यसको डेटाहरु अद्यावधिक हुन सकेको छैन । सहकारीका सुधारात्मक र सफलताका विषयहरु सञ्चारमाध्यममा आउनुपर्छ । बढीजसो नकारात्मक विषयहरुले बढी प्राथमिकता पाईरहेको महशुस हुन्छ । सहकारीले गरेको परिवर्तनमा एउटा गाई पाल्नेले १ सय वटा गाई पाल्न थालेका छन् । हजार रुपैयाँ नदेखेकाले लाखौं देख्न पाएका छन् । स्थानीय पूँजीको परिचालन गरेर स्वरोजगार हुने अवसर पाएका छन् । त्यसैले सहकारीले जुन काम गरेको त्यो अन्य बैंक तथा वित्तीय संस्थाले गर्न सकेकै छैनन् ।

अहिले सहकारीहरु झोले भएको आरोप लाग्ने गरेको छ, नेतृत्व गर्नेहरुको आफन्ै सहकारी छैन, खाली नेता हुनका लागि यो क्षेत्रमा लाग्नेले बिगारे भनिन्छ नी हैन ?
तपाईले भनेको धेरैजसो कुरामा सत्यता छ । हामीले त सहकारी क्षेत्रमा राजनीति गर्नुहुँदैन भनेर लागिरहेका छौं । यसलाई एउटा स्वतन्त्र क्षेत्रकारुपमा विकास गर्नुपर्ने आवश्यकता छ । सबै जातजाती, भाषा, धर्म तथा क्षेत्रको यो क्षेत्रमा प्रतिनीधित्व हुनुपर्छ । यो क्षेत्रमा आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरणको कुरा गरिन्छ तर राजनीतिको कुरो गरिदैन । विगत केही वर्षदेखिनै गैर लोकतन्त्रबादीहरुले यसको महत्वलाई नबुझेर भोट बैंककारुपमा प्रयोग गरिदिए । राजनीति गर्ने नाउँमा यो क्षेत्रलाई प्रयोग गरिएको छ, जसले यो क्षेत्रलाई बद्नाम गराउने काम गरिरहेका छन् । राजनीति गर्ने आफ्नो अभीष्ट पूरा गर्नका लागि सहकारीको बाटो प्रयोग गरेका हुन् । सहकारीलाई कब्जा गर्ने तरीकाले पनि नेतृत्वले काम गरिरहेका छन् । जो घातक छ ।

तपाई नेशनल कोअपरेटर्स अलाईन्सको सचिव हुनुहुन्छ ? यो संघको उदेश्य के हो ?
सहकारी क्षेत्र भनेको गैर राजनीतिक र स्वतन्त्र क्षेत्र हो । सहकारीमा कुनै राजनीतिक आस्था वा विचारले सहकारीलाई प्रभाव पार्नु हुँदैन । सहकारीको सिद्धान्त भनेको नै कसैप्रति पनि भेदभाव नगर्नु हो । यसरी अगाडि बढ्नुपर्ने क्षेत्रलाई विगत केही वर्षदेखि राजनीतिक पार्टीका व्यक्तिहरु सहकारीमा प्रवेश गरेर राजनीतिक अखडाकारुपमा विकास गर्न खोजे । कुनै एउटा अमूक पार्टीले सहकारी क्षेत्रलाई कब्जा गर्न खोज्ने खालको रणनीतिमा अगाडि बढेकाले त्यसलाई सहकारीताको सर्वब्यापी मूल्य, मान्यता र सिद्धान्तका आधारमा नेपालको सहकारी आन्दोलनलाई अघि बढाई राख्न र केही राजनैतिकरुपमै संगठित भई यस क्षेत्रलाई कब्जा गर्ने हिसाबले अघि बढेकाले ती शक्तिलाई साईजमा ल्याउन ंसंगठितरुपमा शक्तिको आवश्यकता परेकाले शक्ति निर्माणका लागि अलाईन्सको गठन भएको हो ।