वैदेशिक रोजगारीको अर्को पाटो ‘छक्कापन्जा’

काठमाडौँ ।  वैदेशिक रोजगारीका विषयमा बनेका अधिकांश नेपाली चलचित्रमा नेपाली युवा ठगिएका, मारिएका, पैसा नकमाएका यस्तै विषय प्राथमिकताका साथ समेटिएका हुन्थे । तर यहि शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको हाँस्यकलाकार दीपाश्री निरौलाको कथा तथा निर्देशनमा बनेको चलचित्र ‘छक्कापन्जा’ले भने थोरै भिन्न विषयलाई केन्द्रविन्दु बनाएको छ । पूर्ण हाँस्यमा बनाइएको चलचित्रमा वैदेशिक रोजगारीपछि गाउँघरमा उत्पन्न हुने विकृतिलाई कथामा देखाइएको छ । कथा मूलतः सुदूरपश्चिम क्षेत्रको एउटा गाउँमा केन्द्रित छ भने सोही क्षेत्रको भाषा शैलीलाई संवादमा अपनाइएको छ ।

कथाका उल्लेख भए अनुसार रजौटा खानदानमा हुर्किएको ‘भगवान्’ आफूलाई अझै राजा नै मान्छ । उसका उरन्ठेउला साथीहरुले उसलाई राजा नै भनेर बोलाउँछन् । द्वन्द्वका बेला उसले बाबु गुमाउनुपरेको विवशता हुन्छ । विधवा आमा एक्ली छिन् भएपनि उसलाई त्यसको केही पर्वाह छैन । ऊ केही काम गर्दैन । जागिर पनि खान मन गर्दैन । पुर्खौली सम्पत्ति प्रशस्त भएको ऊ साथीहरुका लागि रक्सी र गाँजामा जति पनि पैसा खर्च गर्छ र आफ्नो पछि–पछि उनीहरुलाई लगाउन बाध्य गराउँछ ।

चलचित्रको मूल सन्देश भनेकाे अरूको जीवनमा छक्कापन्जा गर्दा आफ्नो जीवनमा पनि छक्कापन्जा आइलाग्छ भन्ने नै हो । यससँगै गरिबी र बेरोजगारी तथा समाजमा बढेको देखासिकीका कारण बाध्य भएर विदेसिनु परेका युवाका पीडा पनि यसमा छन् । निर्देशक दीपाश्री निरौला भन्नुहुन्छ, “नेपाली युवा विदेश जानेक्रम बढेसँगै देशमा रेमिट्यान्स त भित्रिएको होला तर त्योभन्दा धेरै समाजलाई क्षति पुगेको छ, यस्तै वास्तविकता यसमा देखाउन खोजिएको हो ।”

करिब दुई घन्टा १५ मिनेट लामो यो चलचित्रको अवधिभर दर्शकले प्रायः हरेक संवादमा खित्का छोड्न बाध्य हुन्छन् । कथा, पटकथा, अभिनय, सङ्गीत आदि धेरै पक्षमा अब्बल भएपनि चलचित्रको सबैभन्दा सबल पक्ष संवाद नै हो । त्यस्तै, चलचित्रमा दीपक, गिरी, प्रियङ्का कार्की, जितु नेपाल, नम्रता सापकोटा, शिवहरि पौडेल, केदार घिमिरे, बुद्धि तामाङ, वर्षा राउत, करुणा कार्की आदि कलाकारले पनि अभिनय गरेका छन् । त्यस्तै, आर्यन सिग्देलले अतिथि कलाकारको भूमिका निर्वाह गर्दा निर्देशक निरौलालाई पनि छोटो दृश्यमा देख्न सकिन्छ ।

यस चलचित्रमा कविराज गहतराजको नृत्य, रोशन श्रेष्ठको द्वन्द्व, पुरुषोत्तम प्रधानको छायाङ्कन, विपीन मल्लको सम्पादन तथा दीपक शर्मा र राजनराज शिवाकोटीको सङ्गीत छ भने यसको ‘पूर्वपश्चिम रेल’ बोलको गीत चलचित्र प्रदर्शनअघि नै बहुचर्चित बनिसकेको थियो ।