बुद्ध लामा बने पहिलो नेपाल आइडल

काठमाडाैं । बुद्ध लामा पहिलाे नेपाल आइडल भएका छन् । शुक्रबार कतारको दोहामा भएको ग्राण्ड फिनालेमा निशान भट्टराई र प्रताप दासलाई पछि पार्दै लामा नेपाल आइडल भएका हुन् । उनकाे याे उपाधिसँगै पोखराका बुद्ध लामाले २० लाख रुपैयाँ नगद र महिन्द्राको केयुभी १०० गाडी प्राप्त गरेका छन् भने १५ लाख बराबरको भिडियो एल्बम र कन्ट्रयाक्ट पाउनेछन् ।

अाइडलमा मोरङका निशान फस्ट रनर अप भए भने ललितपुरका प्रताप दास सेकेण्ड रनर अप बनेका छन् । निशानले १५ लाख रुपैयाँ नगद पाउँदा प्रतापले १० लाख रुपैयाँ पाएका छन् । एमएमएस र मोवाइल एप भोटिङका आधारमा नेपाल आइडलको विजेता छनौट गरिएको हो ।

आयोजकले दिएकाे जानकारीअनुसार ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ मत आएको थियो । जसमध्ये ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट प्राप्त गर्दै पहिलो नेपाल आइडल पदवी हात पारेका छन् । नेपाल आइडलको समापनसँगै एपी वान टेलिभिजनले अर्को रियालिटी शो ‘नेपाल गट ट्यालेन्ट’ को घोषणा गरेको छ भने यो सन् २०१८ को सुरुवातबाट प्रकारण हुने बताइएको छ ।

२०५४ साल मंसिर ८ गते पोखरामा जन्मिएका बुद्ध लामाको पुर्ख्यौली थलो धादिङको लापा हो । उनको परिवार २०४२ सालमा पोखरा बसाईं सरेको थियो । चार वर्षअघि उनले आफ्नै कम्पोजिसनमा ‘कसरी तिमीलाई’ बोलको गीत पनि रेकर्ड गराएका थिए । साथीहरुसँग मिलेर उनले ताण्डव नामको ब्याण्ड पनि बनाएका थिए । तर, एक सदस्यको निधन भएपछि ब्याण्ड भताभुंग भयो ।