सोच महिलामाथीको ——

कल्पना शर्मा

कल्पना शर्मा

मैले बच्चैदेखि देख्दै आएको हाम्रो समाजको महिलाप्रतिको सोच भनेको दोस्रो दर्जाको नागरिकको नै हो । यहाँ हरेक नियम कानून समाजले महिलाको विपरित निर्धारण गरिदिन्छ । महिला भएकै कारण यो गर्नुहुन्छ, यो गर्नुहुन्न भन्ने मान्यताले पुरुष भन्दा महिलालाई एककदम पछाडिनै पारेको छ । छोरी मान्छे भनेको अर्काको घर जाने जात हो भन्दै पराईको व्यबहार जन्मनेवित्तीकैबाट सुरु हुन्छ । हुर्कंदै गर्दा छोरी मान्छेका लागि अनेक प्रकारका नियम तथा कानून थोपरिन्छन् । धेरै बोल्नुहँदैन । धेरै हाँस्नु हुँदैन । अँझ केटामान्छेसँग त बोल्दा धेरै विचार गर्नुपर्छ भनेर सिकाउँछ समाजले । तर छोरा मान्छेलाई छोरीमान्छेलाई आदर गर्नुपर्छ भनेर कहिल्यै सिकाउँदैन । हाम्री हजुरआमाले भन्नुहुन्थ्यो छोरी मान्छे भनेको अर्काको घर जाने जात हो, छोरा मान्छे हाम्रा खम्बा हुन्, आपत विपतमा बचाउँछन् ।
छोरीलाई पराईको जात भनेर सोच राख्ने पूरानो पीढिका मात्रै होईनन् अहिलेका पुस्तामा पनि महिलामाथीको विभेदकारी सोच कायमैं छ । गर्भमा बच्चा रहेसँगै छोरा हो की छोरी हो त भनेर अनावश्यक तर्क गर्नेहरु धेरैछन् हाम्रो समाजमा । तपाईको गर्भमा छोरा छ की छोरी ? भनेर सोधीखोजी गर्नेको लामै सूची बन्छ । मार्नौ की छोरा जन्मिए पालिदिने ठेक्का समेत उनैले लिनेछन् । यस्ता खाले अनेक दबावले एउटी सक्षम र पढेलेखेकी महिलामाथी पनि समाजले अनावश्यकरुपमा दुख दिन थाल्छ । फाल्तू तर्क गर्ने र छोराछोरी वीचको भिन्नता समाजले मजैले छुट्याउने गर्छ । यसमा हामी सबै धेरथोर विज्ञ छौं ।

सानो छँदा देखिनै तिमी छोरी हौ, त्यसैले यो गर वा उ नगर भनेर सिकाउने समाजले छोरी हुर्किदै गएपछि छोराछोरी समान हुन् भनेर सिकाएर हुन्छ ? विभेद घरबाटै सिकाउने अनि विद्यालय पुगेकी छोरीलाई कुनै केटाले नकारात्मक व्यबहार गर्यो भने डटेर सामना गर्नुपर्छ भनेर भन्दा छोरीले कस्तो व्यबहार गर्लिन् ? म त छोरी मान्छे हुँ । छोरीलाई मैले चुपचाप सहिनँ भने मेरो चरित्रमाथी प्रश्न उठ्छ की भनेर डराउन जिम्मेवार बनाउने को हो ? सबैभन्दा पहिले यसको उत्तर खोजिनुपर्छ ।

व्यबहारिकरुपमा हामी अहिले पनि छोरीमाथी अनेक खाले विभेद गरिरहेका छौं । जानेर÷नजानेर, चाहेर÷नचाहेर पनि छोरीमाथी अनेक खाले विभिन्नता कायमै छन् । अर्को अच्चम लाग्दो त के छ भने छोरीहरु लड्न भिड्न सक्दैनन् भन्ने खाले शिक्षा विद्यालयले सिकाउने गरेको पाईन्छ । मेरी ५ वर्ष पुगेकी छोरीले नीलो रङको लुगा केटाको हो भनेर लगाउन मान्दिनन् । अब केटाको रङ वा केटीको भनेर विद्यालयमा नै सिकाई हुन थालेपछि बच्चाको दिमागमा के असर पर्ला ?w

म कहिलेकाहिं महिला अधिकारकर्मीहरुले बोलाएका कार्यक्रममा भाग लिन जान्छु । महिला अधिकारका पक्षमा काम गर्ने प्राय महिलानै हुन्छन् । कार्यक्रममा बसुञ्जेल उनीहरुका कुरा सुन्छु अनि भाउन्न हुन्छ । भित्रभित्रै पुरुष जाति प्रतिनै रिस उठेर आउँछ । वास्तवमा पीडा दिने र महिलामाथी थिचोमिचो गर्ने त पुरुषनै हुँदा रैछन् । अनि अर्को पाटोबाट पनि सोच्छु । हामी जे गर्दा पनि पुरुषनै खोज्छौं । घरमा चामल सकियो, ग्याँस सकियो, सपिङ जानुपर्यो, बच्चाको फी तिर्नुपर्यो आदि इत्यादि । बच्चैदेखि पुरुषमाथी अनावश्यक बोझ थोपरिएको हुन्छ । तिमी ठूलो भएर श्रीमती, बा, आमा, छोराछोरी पाल्नुपर्छ । उसको बाल मष्तिष्कमैं पुरुष हुनुको एकखाले गर्वानुभूति हुनथाल्छ भने महिलालाई सँधै निरीह अनुभूति हुनथाल्छ । नतीजा पुरुष आफूलाई निकै बलशाली ठान्न थाल्छन् । उनीहरुलाई कठोर बनाउने जिम्मा पनि हाम्रै समाजको हो ।

महिला र पुरुषवीचको शारीरिक बनावट, महिलाले बच्चा जन्माउने र दुध चुसाउने बाहेकका उनीहरुवीच भिन्नता के छ ? महिला भएकैले घरभित्रको काम गर्नुपर्छ र पुरुष भएकैले बाहिरै निस्कनुपर्छ भनेर कहाँ लेखिएको छ ? फेरी पुरुषले भान्सामा छिर्दैमा र महिला काममा निस्कदैमा समानता हुन्छ भन्ने पनि के छ र ? समानता भनेको सोंचमा अन्र्तनिहीत हुन्छ । महिला र पुरुषवीचको सहकार्य, समानता, सहविचारले मात्रै महिला पुरुषवीचको विभेद हट्न सक्छ । महिला हक स्थापित गर्नु भनेको पुरुषको विरुद्धमा जानु होईन । समानताको विषय महिलाको मात्रै हो भनेर पुरुषले बहिष्कार गर्न मिल्दैन । नकारात्मक सोच हामीभित्रै हुन्छ । त्यसैले महिला र पुरुष मिलेर समाजले थोपरिदिएको नकारात्मक सोचलाई परिवर्तन गर्न जरुरी छ ।