नेपालमा डाक्टर एकसे एक छन्

डा.दीपक रेग्मी, नाक, कान तथा घाँटी रोग विशेषज्ञ
धादिङको कटुञ्जे गासिवमा जन्मेका डा.दीपक रेग्मी नाक, कान तथा घाँटी रोग विशेषज्ञ हुन् । मध्यमवर्गीय परिवारमा जन्मेका डा.रेग्मीका ३ दिदीबहिनी, बुवाआमा, श्रीमती र एक छोरा छन् । ६ कक्षासम्म गाउँकै विद्यालयमा अध्ययन गरेका उनी ७ कक्षा अध्ययनका लागि काठमाडौको तरुण मावि बालाजुमा भर्ना भए । विद्यालयस्तरीय अध्ययनपश्चात् अमृत साईन्सबाट आईएस्सी तथा शिक्षा मन्त्रालयको छात्रवृत्तिमा काठमाडौ मेडिकल कलेजबाट एमबीबीएस तथा वीपी कोईराला ईष्टिच्युट अफ हेल्थ साईन्सेसबाट एमएस गरेका छन् । हाल काठमाडौको सिनामंगलमा रहेको काठमाडौ मेडिकल कलेज, अन्नपूर्ण न्यूरो अस्पताल, मनमोहन मेमोरियल अस्पताल ठमेल तथा मैतिदेवीको एपोलो पोलिक्लिनिकमा नाक, कान तथा घाँटी रोग विशेषज्ञकारुपमा विरामीलाई सेवा दिईरहेका छन् । विरामीको उपचारमा कत्तिपनि झन्झट नमान्ने, सरल तथा विरामीको छनोटमा परेका उनै डाक्टर दीपक रेग्मीसँग नाक, कान तथा घाँटी कस्तो प्रकारको रोग हो ? कस्ता कस्ता समस्या देखा पर्छन् र समाधानका उपायहरु केके हुन् भन्ने विषयमा नवीन सन्देशका सम्पादक कल्पना शर्माले गरेको कुराकानी dr deepak 1
नाक, कान तथा घाँटीमा कस्ता प्रकारका रोगहरु लाग्छन् ?
सरसर्ती हेर्दा नाक, कान तथा घाँटी सम्बन्धि रोगहरु उस्तै प्रकारका जस्ता देखिन्छन् तर वास्तविकता त्यो होईन । यो निकै गहन विषय हो । यससम्बन्धि विशेषज्ञता पनि निकै नै कम छ । यी अंगहरुमा रोगहरु पत्ता लगाउन पनि गाह्रै हुन्छ । रोग पत्ता लागिसकेपछि पनि गम्भीर प्रकृतिको हो भने अप्रेसन गर्न पनि निकै नै चूनौतीपूर्ण हुन्छ । नाकमा सिगान बग्ने, मासु पलाउने, पिनास लगायत रोगहरु बढी मात्रामा लाग्छन् भने कानसम्बन्धि रोगमा पीप बग्ने, कानेगुजी भरिने, कान नसुन्ने, कान कराउने, चक्कर लाग्ने आदि समस्याहरु हुन्छन् भने घाँटी रोगमा टन्सिल बढ्ने तथा क्यान्सरसम्बन्धि समस्या ज्यादा देखिन्छन् ।

यी रोगहरु कस्तो मौसममा बढी देखिन्छन् ? dr deepak 2
यी रोगहरु ठ्याक्कै यहि मौसममा लाग्छन् भन्ने छैन । तर चिसो मौसममा बढीजसो भाईरस सक्रिय हुन्छन् । गर्मी मौसमको तुलनामा जाडोमा भाईरसहरु बढी नै सक्रिय हुने कारणले चिसोमा बढी दुख दिन्छन् ।

टन्सिल कस्तो प्रकारको रोग हो ?
टन्सिल घाँटीको मूलद्धारमैं हुन्छ । हामीले जतिपनि चिजहरु बाहिरबाट लिन्छौं तथा मुखवाट खान्छौं त्यसक्रममा भित्र ब्याक्टेरिया वा भाईरसहरु प्रवेश गर्न सक्छन् । तीनै व्याक्टेरिया वा भाईरसहरु मार्नका लागि घाँटीबाट एकप्रकारको जूस निकाल्ने ग्रन्थी घाँटीको भित्रपट्टि हुन्छ । यसले प्रवेश गरेका ती भाइरस तथा व्याक्टेरियालाई मार्ने काम गर्छ । तर कहिलेकाहीँ त्यसैले हामीलाई दुख दिन्छ । विशेषत साना केटाकेटीलाई यसले सताउँछ । टन्सिलले लामो समयसम्म दुख दिई दियो भने यसले मुटुको भल्भहरु समेत खराब गर्न सक्छ । dr deepak 4
नाकमा विशेषतः कस्ता प्रकारका रोगहरु लाग्ने गर्छन् ?
नाकसम्बन्धि धेरै प्रकारका रोगहरु लाग्ने गर्छन् । नाक बन्द हुने, सास फेर्न गाह्रो हुने, एलर्जी हुने, मासु पलाउने, विभिन्न क्यान्सरहरु लगायत हड्डी बांगिने समस्याहरु हुन सक्छन् । यो पत्ता लागेपछि भने धरैजसोलाई अप्रेसननै गर्नुपर्ने हुन्छ ।
टाउकोमा नाक सँगसँगै ४ जोडी साईनस पनि हुन्छन् । साईनस भनेको खप्परको हड्डीको भित्रपट्टि हावा भरिएको ठाउँ हो जसले हामीले बोल्दा टाउको हलुका बनाउने, राम्रो स्वर सुनाउने काम गर्छ । यदि त्यो हावा भरिने ठाउँमा पीप भरिएर बसिदियो भने त्यसैले अप्ठेरो बनाउँछ, जसलाई पिनास भनिन्छ । त्यसलाई अप्रेसननै गर्नुपर्ने पनि हुनसक्छ । कहिलेकाही साईसनको ट्युमर (क्यान्सर) पनि हुनसक्छ । त्यस्तै कहिलेकाहि नाकको क्यान्सर ब्रेनमा जाने, ब्रेनको क्यान्सर नाकतिर आउने पनि गर्छ । विशेषत अहिले यो नेपालमा फाट्टफुट्ट पत्ता लाग्न थालेको छ । नाक तथा टाउकोलाई छुट्याउने हड्डीलाई Skull base भनिन्छ । जसको ट्युमरको ईन्डोस्कोपी (दूरवीन) बाट गरिने अप्रेशन Endoscopic Skull base Surgery मा विशेष रुचीका साथ काम गरिरहेकाे छु । d 7
कानमा कस्ता प्रकारका समस्याहरु लिएर बिरामीहरु आउने गर्छन् ?
कानमा हुने रोगहरु मध्ये कान नसुन्ने, कानबाट पीप बग्ने, कान कराउने, चक्कर लाग्ने लगायतका छन् । कानमा रुघाखोकी लाग्दा पीप बग्ने र जटिल अवस्थामा पुगेपछि मात्रै विरामीहरु आउने गर्नुहुन्छ । वास्तवमा यो एकदमै गलत हो । यदि कानमा पीडा भयो भने तुरुन्तै उपचार गर्नुपर्छ नभए कानको जालीबाट सँधै पीप बग्ने समस्या हुनसक्छ । एकप्रकारको हड्डी खाने कान पकाई पनि हुन्छ, यसले ब्रेनमा समेत ईन्फेक्सन गर्न सक्छ । यसबाट मेनेन्जाईटिस  ब्रेन Abscess भएर ज्यानै जानसक्छ । कानको ईन्फेक्सनले ७ नम्बरको नशालाई पनि बिगार्न सक्छ र मुख बांगिने समस्या हुनसक्छ । अर्को समस्या भनेको चक्कर लाग्ने हो । यदि कुनैपनि मानिसलाई चक्कर लाग्ने समस्या देखियो भने सबैभन्दा पहिले कानको जाँच गराउनुपर्छ ।

नेपालमा नाक, कान तथा घाँटीका विरामीहरु कति छन् ? कस्तो अवस्थामा अस्पताल पुग्नुपर्छ ?
ठ्याक्कै यति नै संख्या छ भनेर भन्न सक्ने अवस्था त छैन । पहिले क्यान्सरको समस्या निकै नै कम देखिन्थ्यो । अहिले डाइग्नोसिस मोडालिटीहरु प्रशस्तै मात्रामा भएकाले नयाँ प्रविधिहरु प्रयोग गरेर नाक, कान, घाँटीको धेरै मात्राका क्यान्सरहरु पत्ता लगाउन सकिन्छ । आजभोली धेरैलाई देखिएको समस्या भनेको थाईराईडको हो । यसरी अहिले ब्यापकरुपमा देखिने गरेको थाईराईडलाई पहिले गाँड भनिन्थ्यो । जून क्यान्सर पनि हुनसक्छ । त्यसैले घाँटीमा डल्लाडुल्ली देखा परे तुरुन्तै अस्पताल जानुपर्छ ।

बच्चामा रुघा लाग्ने, घुर्ने समस्या, टन्सिलाईटिस आईराख्छ भने त्यस्तो बेला नाक र कानलाई जोड्ने ट्युबबाट ईन्फेक्सन भएर कान विगार्ने समस्या धेरै हुन्छ । त्यसैले नाकमा धेरै समय रुघा लागिरहने समस्या छ भने डाक्टरको सल्लाह लिनुपर्छ । कान पाक्ने रोग पनि पछिल्लो समय धेरैमा देखापर्ने गरेको छ । कहिलेकाहिं देखिने समस्या खासै गम्भीर नहुन सक्छ तर बारम्बार कान पाकिरहन्छ भने कानको जाली फूट्नेसम्मको समस्या निम्तिन सक्छ । यस्तो समस्या भएमा ढिलो नगरी तुरुन्तै डाक्टरकोमा गई हाल्नुपर्छ । पहिलेजस्तो समय अब रहेन । मिडियाको सकारात्मक भूमिकाका कारण पनि डाक्टरकोमा जाने क्रम पहिलेको भन्दा बढी छ । स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो । स्वास्थ्य छैन त केहि छैन । त्यसैले सानो समस्या देखिने वित्तिकै डाक्टरको सल्लाह लिनुपर्छ । अर्कोकुरा स्वास्थ्य जाँच गर्न विरामी नै हुनुपर्दैन । विरामी भएपछि मात्रै अस्पताल पुग्नुभन्दा स्वास्थ्य अवस्था कस्तो छ भनेर बेलाबेलामा चेकजाँच गराउनुपर्छ ।

साना बच्चाहरुलाई कानमा तेल हाल्ने प्रचलन छ, यो राम्रो वा नराम्रो के हो ?
वास्तवमा धेरैलाई कानमा तेल हालेको अनुभव होला । कान सुख्खा भएमा कानेगुजी भरिएर दुख्छ भन्ने मान्यता अनुसार कानमा तेल हाल्ने चलन हामीकहाँ थियो । तर मेडिकल साईन्सले यसलाई गलत प्रमाणित गरिदिएको छ । कान धेरैनै संवेदनशील अंग हो । त्यसमा पनि सानो बच्चाको कान त झनै कोमल हुन्छ । कानमा तेलमात्रै होईन, जे पायो त्यहिले कोट्याउने पनि गर्नुहुँदैन । कान बिग्रियो भने सुन्न सकिदैन । यसले जीवननै बर्बाद बनाउँछ ।

ईण्डोस्कोपिक टेलिस्कोप प्रविधि नाकको लागि कत्तिको उपयोगी छ ?
यो प्रविधि हाम्रा लागि बरदाननै सावित भईसकेको छ । यो नेपालमा सन् २००० तिर भित्रिएको हो । नाकको जतिपनि अप्रेसनहरु हुन्छन्, त्यसमा एकदमै प्रभावकारी छ । नाकबाट ब्रेनमा पुगेको ट्युमरको सर्जरीको काम यसै प्रविधिबाट अहिले मैले गरिराखेको छु ।

अन्त्यमा के भन्नुहुन्छ ?
नाक, कान तथा घाँटीको कुनैपनि समस्यालाई हेलचक्र्याई गर्नुहुँदैन । सामान्य घाँटी दुखेमा पनि लापरवाही नगरौं । त्यहि सामान्य घाँटी दुखाईबाट मुटुको समस्या हुनसक्छ । नाक, कान तथा घाँटी सामान्य लाग्ने तर असाध्यै संवेदनशील अंगहरु हुन् । यी तीनवटै अंगहरु सही सलामत भएनन् भने जीवन अन्धकार हुन्छ । सामान्य समस्यामा पनि डाक्टर भेट्न अल्छी गर्नुहुँदैन । नेपालमा हामी केहि भएकै छैन भन्छौं तर छोटो समयमा पनि उल्लेख्य परिवर्तन भएको छ । नेपालमा डाक्टरहरु एकसे एक छन् । हाम्रो क्षमता नभएको होईन । तर कतिपय अवस्थामा प्रविधिको अभाव भएका कारण उपचार गर्न कठिनाई उत्पन्न हुने गरेको छ । अहिले गाउँ गाउँमा स्वास्थ्य संस्था र डाक्टर पुगेर विरामीलाई सेवा दिईरहेका छन् । त्यो पक्कैपनि पर्याप्त छैन । यसलाई बढाउनु आवश्यक छ ।  तस्वीर रश्मी महत