भूकम्पपीडितलाई ट्याक्सी: आवेदन बुझाउने समय थप

काठमाडौँ । नयाँ ट्याक्सी नम्बरका लागि एक लाख १० हजार भूकम्प पीडित परिवारले आवेदन दिएका छन् । सरकारले भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका पीडितहरुलाई ट्याक्सी नम्बर उपलब्ध गराउने भएपछि यातायात ब्यवस्था कार्यालय एकान्तकुनामा विभिन्न जिल्लाका भूकम्प पीडितले आवेदन बुझाएका छन् ।

गत साउन ५ देखि भदौ २ गतेसम्म आदेवन बुझाउने समय तोकिए पनि भदौ २ गते सार्वजनिक विदा परेकोले भदौ ५ गतेसम्म आवेदन बुझाउने समय थप गरिएको छ । अन्तिम दिनसम्म थप १० हजार आवेदन आउन सक्ने अनुमान गरिएको छ । आवेदन दिनेको संख्या अत्यधिक भएपछि गोलाप्रथाद्धारा डेढ हजार ट्याक्सी नम्बर वितरण गरिने विभागले जनाएको छ । काभ्रे, दोलखा, सिन्धुपाल्चोक र धादिङ्ग जिल्लाबाट धेरैको संख्यामा आवेदन दिएका छन् भने अन्य जिल्लाहरुको आवेदन दिनेको संख्या न्युन छ ।

काठमाडौँ, ललितपुर र भक्तपुरबाट भने निकै कम आवेदन परेको यातायात ब्यवस्था कार्यालय एकान्तकुनाका शाखा अधिकृत हरि लामिछानेले जानकारी दिए । आवेदन बुझाए पनि ट्याक्सी नम्बर पाउनेमा भने भूकम्प पीडित परिवार विश्वस्त छैनन् । झिनो आशाले उनीहरु घण्टौं लाइन बसेर आवेदन दिएका छन् । बुधवार आवेदन दिन आएका काभ्रे पनौतिका विदुर नेपालीले भन्नुभयो ‘अब ट्याक्सी पाउने आशा त छैन । तैपनि फारम बुझाउन आएको हुँ । ट्याक्सी त खै कसरी पाइएला र ? भाग्यमा रहेछ भने पाइएला ।’

आवेदन दिन आएका भूकम्प पीडितले सहुलियतमा ट्याक्सी नै पाइने बताए । सिन्धुपाल्चोक चौताराका बिक्रम लामाले सहुलियतमा सरकारले ट्याक्सी दिने भनेर आवेदन दिन आएको बताए । सरकारले ट्याक्सी नभई ट्याक्सीको नम्बर मात्र उपलब्ध गराउने यातायात ब्यवस्था विभागका प्रवक्ता वसन्त अधिकारीले बताए । भूकम्प पीडितको नाममा दर्ता खुलाइएपछि गैरभूकम्प पीडितले पनि आवेदन दिएका छन् । गोरखापत्र दैनिक