दुर्घटनापछि मात्रै उठ्छन् नियमका कुरा

काठमाडौँ । प्राय: ठूला दुर्घटनाका बेला ट्राफिक नियम पालनाको कुरा उठ्ने गरेको छ । क्षमताभन्दा बढी सवारी बोकेको, लामो दूरीका गाडीमा एउटै चालक राखेको तथा तीव्र गतिमा सवारी साधन चलाउने गरेको विषयले फेरि चर्चा पाएको छ । चालकको लापरबाही तथा क्षमताभन्दा बढी यात्रु बोकेका कारण  सुदूरपश्चिमका विभिन्न ठाउँमा सवारी दुर्घटना भएको विभिन्न छानबिन समितिले पेस गरेका प्रतिवेदनमा समेत उल्लेख छ । तर नियमक निकायले यस्ता कुराप्रति सचेतता नअपनाउँदा केही समयपछि त्यतिकै सेलाएर जाने गरेका कारण दुर्घटना न्यूनीकरण हुन नसकेको सरोकारवाला बताउँछन् ।

पछिल्लो पटक काभ्रे र बैतडीमा भएका ठूला दुर्घटनापछि एक पटक फेरि यो विषयले चर्चा पाएको छ । सडकमा ट्राफिक चेकजाँचमा पनि बढेको छ । ‘ट्राफिक नियमसँगै सवारी साधनको चेकजाँच र अनुगमन पनि दुर्घटनापछि मात्रै बढाइन्छ’ नागरिक समाज कञ्चनपुरका सचिव कोमल निरञ्जन भाटले भने, ‘चाडबाडका बेला र दुर्घटना भएपछि मात्रै तात्ने बानीका कारण दुर्घटना न्यूनीकरण हुन सकेको छैन ।’

खासगरी ग्रामीण भेगमा सीमित मात्रामा चल्ने सवारी साधनमा अहिले पनि छतमा यात्रु बोक्ने क्रम निरन्तर चलिरहेको स्थानीय बताउँछन् । कञ्चनपुरको बेलौरी र बेल्डाँडी सडक खण्डमा वर्षातको सिजनमा पनि यात्रुहरू छतमा समेत यात्रा गर्न बाध्य छन् । तर स्थानीय प्रशासन भने यो विषयमा मौन बसेको छ । कलुवापुर–बेलौरी र दैजी–बेल्डाँडी सडक खण्डमा ट्राफिक चेकजाँच पनि नहुने भएकाले छतमा समेत यात्रु बोक्ने गरेको सचिव भाट बताउँछन् ।

‘सार्वजनिक यातायातमा सिन्डिकेटको अन्त्य नभएसम्म सवारी दुर्घटनाको समस्या निम्तिरहन्छ’ जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी तुलसी अधिकारीले भने, ‘स्वतन्त्रपूर्वक यातायात सञ्चालन गर्ने माहोल नभएसम्म यातायात क्षेत्रमा सुधार हुँदैन ।’ उनले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीसँगै सबै क्षेत्र लागिपरे पनि यातायात क्षेत्रभित्र रहेको एकाधिकारका कारण सम्भव नभएको बताए ।

सुदूरपश्चिममा सिन्डिकेटका कारण मात्रै दुर्घटना नबढेको सुदूरपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख एसपी रमेश थापाको दाबी छ । उनले यहाँ थोत्रा सवारी साधन सञ्चालनमा नरहेको दाबी गर्दै दुर्घटनाको कारण चालकको लापरबाही र कमजोर सडक संरचना भएको बताए ।

‘हतारमा गाडी चलाउने, लामो समयसम्म मर्मत नगर्ने, स्पिड बढी हुने र पहाडको बाटोमा बढी घुम्ती हुनु र सडक स्तरीय नहुुनु नै लगातार भइरहने दुर्घटनाको मुख्य कारण हो’ उनले भने, ‘ट्राफिक भएका ठाउँमा सबै ठीक देखिन्छ, अगाडि–पछाडि मनपरी नै छ ।’

उनले टाइमकार्ड लागु भएको अत्तरिया–डडेलधुरा सडक खण्डमा समेत ट्राफिक नियमको पालना हुन नसकेको बताए । यसैगरी लामो दूरीका गाडीमा चेकजाँचका बेला सबैले २ चालक राखेको देखाउने गरेको उनले बताए । तर यो लागु नभएको र कुनै ठाउँमा सहचालकले नै सवारी चलाउने गरेका कारण थुप्रै दुर्घटनाहरू भएका उदाहरणसमेत बाहिर आएका छन् ।

तर यातायात व्यवसायीहरू भने कुनै पनि सवारी साधनमा क्षमताभन्दा बढी सवारी नबोकेका दाबी गर्छन् । ‘चाडबाडका बेला यात्रुका चाप हुन्छ त्यही बेला अलि बढी सवारी हुन्छन्’ महाकाली यातायात समितिका अध्यक्ष नवीन भट्टले भने, ‘नियमित सवारी साधन चल्ने रुटमा यात्रुका चाप बढी हँुदैन र क्षमता अनुसार नै सवारी बोक्ने गरेका छौं ।’ उनले चाडपर्वका बेला सीमित सवारी साधन मात्रै भएकाले यात्रुको चाप बढ्दा क्षमताभन्दा बढी सवारी बोक्नुपर्नेन बाध्यता रहेको बताए । कान्तिपुर