प्रचण्डले लेखे मोदीलाई चिठी, के छ चिठीमा ?

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय सकमक्षी नरेन्द्र मोदीलाई पठाएको सन्देश भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले शनिबार हस्तान्तरण गरेका छन् ।

प्रधानमन्त्री दाहालको विशेष दूतका रुपमा निधिले मोदीलाई एक चिठी नै दिएका छन् ।  भेटपछि निधिले मोदीसँगको भेट असाध्यै सौहार्दपूर्ण रहेको बताए । तर उनले विस्तृत रुपमा बताउन चाहेनन् । निधिले मोदीसँग ३५ मिनेट सामूहिक र १५ मिनेट एक्लाएक्लै भेट गरेका थिए ।

स्रोतका अनुसार दाहालको सन्देशमा विशेषतः चार महत्वपूर्ण बुँदा छन् । पहिलो दाहालले आफ्नो सरकारको प्राथमिकता संविधानमा आवश्यक संशोधन गरी त्यसलाई सर्वस्वीकार्य बनाएर सकेसम्म छिटो चुनावमा जाने उल्लेख गरेका छन् ।

त्यसका लागि मधेसी र जनजातिका असन्तुष्टि सम्बोधन गर्ने गृहकार्य सुरु भइसकेको जनाएका छन् । दोश्रो नयाँ सरकार भारतसँगको सम्बन्धलाई सुमधुर बनाउन तयार छ भन्ने सन्देश दिइएको छ । विगतमा दुई देशबीचमा देखिएका केही असमझदारी पूर्ण रुपमा हटेको दाहालले उल्लेख गरेका छन् ।  तेश्रो उच्चस्तरमा दुईपक्षीय भ्रमण गराउने दाहालको सन्देश छ ।

यस्ता भ्रमणले दुई देशबीचको सम्बन्धले थप उचाइ ग्रहण गर्ने उल्लेख छ । चौथो नयाँ सरकार विकासका परियोजनालाई अगाडि बढाउन चाहन्छ र त्यसका लागि भारतको सहयोग आवश्यक पर्ने उल्लेख गरिएको छ । प्रधानमन्त्रीले यस अगाडि नै भारतीय पक्षलाई आफूले बगाडि बढाउन चाहेका परियोजनाको सूची नै बुझाइसकेको स्रोतको दाबी छ । कान्तिपुर दैनिक