प्रधानमन्त्रीकै कार्यकर्ताले गर्दा पेट्रोल अभाब

काठमाडौँ । न्यूनतम पारिश्रमिक पाउनुपर्ने माग राख्दै २९ साउनदेखि पेट्रोलियम मजदुर आन्दोलित भएका छन्। उनीहरूले सरकारले निर्धारण गरेको न्यूनतम नौ हजार सात सय रुपैयाँ पाउनुपर्ने माग कार्यान्वयनका लागि दबाब दिन आन्दोलन थालेका हुन्।

माओवादी केन्द्रनिकट अखिल नेपाल पेट्रोलियम मजदुर संघले माग पूरा गराउन पटक–पटक अनुरोध गरे पनि व्यवसायीले नसुनेकाले आन्दोलन गर्नुपरेको जनाएको छ। संघका उपाध्यक्ष लक्ष्मण न्यौपानेले माग पूरा गराउन दबाब दिने उद्देश्यले आइतबार थानकोट डिपोमा १० देखि १२ बजेसम्म धर्ना दिएर लोड भएका ट्यांकर बाहिर आउन नदिएको बताए। आजको नयाँ पत्रिकामा खबर छापिएको छ।

आइतबार मजदुरले धर्ना दिएपछि दिउँसो ३ बजे पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएनअन्तर्गतको बागमती एकाइले वार्तामा बोलाएको थियो। वार्तामा व्यवसायीले एक साताभित्र न्यूनतम पारिश्रमिक सबै मजदुरलाई दिने बताएका थिए। छलफलमा सहभागी बागमती इकाइका सचिव नारद भण्डारीले अधिकांश मजदुरलाई न्यूनतम पारिश्रमिक दिएको र छुटेकालाई हप्ता दिनभित्र सूची तयार गरी उपलब्ध गराउने प्रस्ताव गरेको जानकारी दिए।

छलफलमा सहभागी संघका काठमाडौं जिल्ला अध्यक्ष जगत श्रेष्ठले माघदेखि पारिश्रमिक पाउने आशामा कुर्दै आए पनि कार्यान्वयन नभएकाले आफूहरू आन्दोलित हुनुपरेको बताए। ‘सरकारले १८ माघमा राजपत्रमा सूचना प्रकाशित गरी मजदुरको न्यूनतम पारिश्रमिक नौ हजार सात सय तोकेको छ, तर अहिलेसम्म पनि नपाएकाले आन्दोलिन हुनुपरेको छ,’ उनले भने, ‘व्यवसायीले हप्ता दिनभित्र दिन्छौा भनेको कुरामा हामीलाई विश्वास छैन।’ सोमबारबाट आपूर्ति वितरण झनै असहज पार्ने चेतावनी मजदुरले उपत्यकाका ७५ प्रतिशत पम्प सञ्चालकले न्यूनतम पारिश्रमिक नदिएको बताएका छन्।

उनीहरूले न्यूनतम पारिश्रमिक नदिने पम्पको आपूर्तिमा थप अवरोध गर्ने जनाएका छन्। ‘सोमबारदेखि न्यूनतम पारिश्रमिक नदिने पम्पबाट इन्धन वितरण रोक्छौा, थानकोट डिपोको लोडिङ पनि रोकिदिन्छौा,’ श्रेष्ठले भने। साझा, सेना, प्रहरी र सशस्त्रका पम्पमा अवरोध नहुने मजदुरको भनाइ छ।

रविन शर्मा थानकोट फर्केपछि अभाव सुरु

नाकाबन्दीका वेला पेट्रोलियम पदार्थ अपचलन गरेको र उपभोक्ता ठग्ने पम्पसँग मिलोमतो गरेको आरोपमा प्रहरीले थानकोट डिपो प्रमुख रविन शर्मालाई पक्राउ गरेको थियो। सरकारले दायर गरेको मुद्दामा जिल्ला अदालत काठमाडौंले उनलाई असार अन्तिममा सफाइ दियो। त्यसपछि २५ साउनमा थानकोट डिपोमै पुनर्बहाली भए। निगमको उच्च व्यवस्थापन र सीमित व्यवसायीको रुचिमा उनी पुन: थानकोट पुगेको स्रोत बताउँछ।

उनी थानकोट पुग्नासाथ उपत्यकामा इन्धन अभाव सुरु भएको हो। उनले १२ बजेपछि मात्रै डिपोबाट ट्यांकर छाड्ने गरेका छन्, जसकारण पम्पले २ बजेपछि मात्रै तेल पाउँछन्। बिहानैदेखि तेल लोड सुरु गरी १० बजेभित्र पम्पमा तेल बोकेका ट्यांकर पठाउने व्यवस्था सुरु गर्न व्यवसायीले अनुरोध गरे पनि शर्माले मानेका छैनन्।

उनले अभावको वास्तै नगरी १० बजेपछि कार्यालय खोल्ने र १२ बजेदेखि तेल बोक्ने ट्यांकर डिपोबाट निकाल्ने गरेको व्यावसायीको गुनासो छ। ‘शर्माले आफूअनुकूलको व्यवसायीका पम्पलाई धेरै तेल दिने र अरूलाई सामान्य अवधिको परिमाण दिने गरेर पनि समस्या भएको छ,’ एक व्यवसायीले भने ।