एक सातामै ५७ हजार भूकम्पपीडितलाई पहिलो किस्ता

काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले एक सातामै थप ५७ हजार भूकम्पप्रभावितलाई घर निर्माणका लागि पहिलो किस्ताको अनुदान रकम वितरण गरेको छ । यससँगै पहिलो किस्ताको अनुदान पाउनेको संख्या एक लाख नाघेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले ४५ दिनभित्र सबै भूकम्प प्रभावितसँग अनुदान सम्झौता गरिसक्ने घोषणा गरेपछि ३१ साउनदेखि प्राधिकरणले विशेष अभियान सुरु गरेको थियो ।

प्राधिकरणले छोटो समयमा यति धेरैलाई पहिलो किस्ताको रकम वितरण गरेको हो । भूकम्पबाट अतिप्रभावित ११ जिल्लाका ५ लाख ३३ हजार प्रभावितलाई पहिलो किस्ताको ५० हजार रकम वितरण गर्नुपर्नेमा हालसम्म १ लाख ६ हजार ९५९ सम्म यो सुविधा पुगेको प्राधिकरणका सहसचिव एवं प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए । उनका अनुसार, हालसम्म ३ लाख ८४ हजार भूकम्प प्रभावितसँग अनुदान सम्झौता भैसकेको छ ।

पछिल्लो अभियानको क्रममा थप ४४ हजारसँग अनुदान सम्झौता गरिएको हो । हालसम्म दोस्रो र तेस्रो किस्ता कुनै प्रभावितलाई दिइएको छैन भने पहिलो किस्ता पाएका ५ हजारभन्दा बढीले घर निर्माण सुरु गरे पनि सरकारी अनुदान पाएर एक जना प्रभावितले पनि सम्पन्न गर्न सकेका छैनन् । कारोबार दैनिक