सुमार्गीको रोकिएको पैसामा प्रधानमन्त्रीको चासो

काठमाडौँ । लामो समयदेखि रोकिएको व्यापारी अजय सुमार्गीले विदेशबाट ल्याउन खोजेको रकमबारे प्रधानमन्त्री पुष्पकमल दाहालले चासो देखाएका छन् । उनले अर्थ मन्त्रालय र राष्ट्र बैंकका उच्च अधिकारीहरूको सामूहिक बैठक आयोजना गरी रोकिएको रकमबारे सोधखोज गरेको हुन् । दाहालले सबै अधिकारीको धारणा बुझे पनि कुनै पनि निकायलाई केही निर्देशन दिएका छैनन् ।

‘कार्यालय समयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्रीसँग गतसाता छलफल भएको हो,’ बैठकमा सहभागी एक अधिकारीले भने । ती अधिकारीका अनुसार बैठकमा राष्ट्र बैंकका गभर्नर चिरञ्जिवि नेपाल, राजश्व सचिव राजन खनाल, प्रधानमन्त्री कार्यालयका दुई सचिव, अर्थ र प्रधानमन्त्री कार्यालयका केही सह(सचिवहरू र राष्ट्र बैंकका अन्य अधिकारीहरू सहभागी थिए ।

बैठकमा दाहालले सरकारी अधिकारीसँग रकम रोकिनुको कारण, कानुनी व्यवस्थालगायतका विषयमा जानकारी लिएका थिए । दाहाल निकटकै व्यापारी सुमार्गीले प्रत्यक्ष वैदेशिक लगानी एफडिआईका रूपमा नेपाल ल्याउन लागिएको ११ अर्ब रूपैयाँ रोकिएको छ । कान्तिपुर दैनिक