मन्त्रीकै ‘भाषा’ को खुट्टो काटिँदा…

काठमाडौँ । पूर्वशिक्षामन्त्री दीनानाथ शर्माले ०७१ वैशाखमा ‘अक्षरको खेती’ निबन्ध कृति लेखे। छाप्नुअघि भाषाका त्रुटि हटाउन र लेखनमा मिठास भर्न उनले पाण्डुलिपि सम्पादकलाई दिए। पाण्डुलिपि जब सम्पादन भएर आयो, उनी छाँगाबाट खसेझैं भए।

सम्पादित कृतिमा उनले लेखेका वाक्य त एउटै सद्दे रहेनछन्, सम्पादकले धेरै शब्दका खुट्टा काटिदिएछन्। धेरै अक्षरका दाहिना–बाइमात्रा उल्ट्याइदिएछन्।
विद्यालयको ठाउँमा विद्यालय, बुद्धको सट्टा बुद्ध, राष्ट्रियको सट्टा रास्ट्रिय। दीर्घ हुनुपर्ने शब्द ह्रस्व, ह्रस्व हुनुपर्ने दीर्घ। शर्माले सम्पादकलाई सोधे, ‘यो कस्तो भाषा हो? यस्तै हो त सम्पादन ?’
भाषा ‘बिगार्ने’ सम्पादकले तुरुन्तै जवाफ दिए, ‘भाषामा विवाद छ, अहिले यस्तै प्रयोग गर्ने निर्णय भएको छ।’
सम्पादकको जवाफ सुनेपछि शर्मालाई लाग्यो, नेपाली भाषामा ठूलै समस्या आएछ।
उनी अझ अचम्मित त त्यतिबेला भए जतिबेला भाषामा यस्तो प्रयोग गर्ने निर्णयको फाइल सदर गर्ने आफैं पो रहेछु भन्ने थाहा पाए।
‘आफैंले निर्णय सदर गरेको रहेछु,’ शर्माले भने, ‘एक/डेढ वर्षपछि पो थाहा पाएँ, गल्ती भएछ।’
तत्कालीन शिक्षामन्त्री शर्माले ‘मन्त्री छँदै थाहा पाएको भए निर्णय तत्कालै उल्टाउने आसय व्यक्त गरे। ‘नेपाली वर्णविन्यासको फाइल दुई वर्षदेखि मन्त्रालयमा घुमिरहेको रहेछ,’ शर्माले भने, ‘कतैबाट विमति नआएको र सचिव तथा नजिककाबाट सदर गर्न भनेपछि हस्ताक्षर गरेको थिएँ।’
नेपाली लेख्य भाषालाई अपांग बनाइएको भन्दै राजधानीमा ‘नेपाली भाषा बचाऔं, अभियान :  २०७२’ ले सडकमै सत्याग्रह थालेपछि शिक्षा पत्रकार समूहले बिहीबार राजधानीमा यस सम्बन्धी अन्तरक्रिया राखेको थियो।
अभियानकर्ता र भाषामा पछिल्लो परिवर्तन ल्याउन संलग्न दुवै पक्षलाई डाकेर गरिएको अन्तरक्रियामा पूर्वमन्त्री शर्माले आफ्नो गल्ती मात्र स्विकारेनन्, यसलाई सच्याउन जस्तोसुकै कदममा सघाउने प्रतिबद्धता जनाए।
भाषामा विभिन्न समयमा विवाद आइरहे पनि अहिलेको समस्या सुरु भएको २०७० बाट हो। पाठ्यक्रम विकास केन्द्रले २०६७ जेठ १६ मा ‘सम्पादन प्रकाशन शैली– २०६३’ परिमार्जन गर्न भाषाशास्त्री हेमांगराज अधिकारीको संयोजकत्वमा कार्यदल बनाएको थियो। कार्यदलले २०६८ पुस २२ गते वर्णविन्यास परिमार्जन गर्न सिफारिससहित प्रतिवेदन दियो।
उक्त प्रतिवेदन कार्यान्वयनमा लैजाने फाइल ०६९ साउन २२ गते तत्कालीन शिक्षामन्त्री शर्माले हस्ताक्षर गरी सदर गरेका थिए। यसको प्रयोग २०७० बाट सुरु भएको थियो।
समयअनुसारको प्रविधिमैत्री भाषा भन्दै खुट्टो काट्ने शैली प्रयोगमा ल्याइएको हो। अहिले ६ देखि ९ कक्षाका पाठ्यपुस्तकमा यही भाषा लागू भइसकेको छ। विद्यालयमा अपांग भाषा पढाउँदा शिक्षक नै हाँसोको पात्र बन्नुपरेको नेपाली शिक्षक राजेश घिमिरेले सुनाए । नागरिक