विदेशी खादाको प्रयोग नगर्न निर्देशन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले आफ्नो मातहतका कुनै पनि कार्यालयमा विदेशी खादाको प्रयोग नगर्न निर्देशन दिएको छ ।

 एक पटक प्रयोगमा आइसकेपछि त्यसलाई पुन प्रयोगमा ल्याउन पनि नमिल्ने, अनावश्यक वस्तुमा राज्यकोषबाट बाषिर्क करोडौँ रुपैँया बाहिरिने र नष्ट गर्दा पनि वातावरण प्रदुषित हुने हुदाँ खादाको प्रयोग रोक्न पर्यटन मन्त्रालयले मातहतका ५० भन्दा बढी निकायलाई निर्देशन दिएको हो। मन्त्रालयले विदेशी भाषामा लेखिएका खादा पनि प्रतिबन्ध लगाएको छ ।   सचिव प्रेमकुमार राईले मन्त्रालयले आफु मातहतका विभाग, प्रतिष्ठान, प्राधिकरण, निगमआदी विभिन्न ४० वटा निकायलाई परिपत्र गर्दै मन्त्रालयले आइन्दा स्वागत तथा सम्मानमा विदेशी खादा प्रयोग नगर्न निर्देशन दिएका हुन् ।

मन्त्रालयले खादा प्रयोग गर्नु नै पर्ने भए नेपालमै उत्पादन भएका ढाका, नेपाली कटन र नेपाली कागजबाट बनेका खादामात्र प्रयोग गर्न पनि निर्देशन दिएको छ ।  पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पनि खादा आयात गर्दा वार्षिक करोडौं रुपैयाँ विदेश जाने हुदाँ बन्द गर्न निर्देशन दिएका थिए। सरकारका पूर्वमुख्यसचिव लीलामणि पौडेलले पनि खादाको प्रयोग निरुत्साहित गरेका थिए ।