चार महिनासम्म सुन नबिक्नुको चार कारण

काठमाडौँ । लामो समयदेखि नबिकेर बैंकमा थन्किएको सुन भदौ लागेपछि बिक्न थालेको छ । पछिल्लो १० दिनमा २५ किलोको हाराहारीमा सुन बिक्री भएको बैंकरहरूले बताएका छन् । नजिकिँदो तिजलाई ध्यानमा राखेर व्यवसायीले सुनको माग बढाउन थालेपछि बैंकको सुन बिक्न सुरु गरेको हो । ‘अहिले उपत्यकाबाहिरबाट सुनको माग बढ्न थालेको छ,’ सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले भने, ‘उपत्यकामा अझै पनि सुनको नयाँ (फ्रेस) माग बढ्न सकेको छैन ।’

बजारमा सुनको कारोबार भइरहे पनि गत चैतयता व्यवसायीले बैंकसँग सुन किन्न लगभग बन्द गरेका थिए । उनीहरूको एउटै तर्क थियो, ‘गहना फिर्ताले नै बजारको माग धानिरहेको छ ।’ तर, बैंकको सुन नकिन्नुको पछाडि ‘मार्जिन कम भएको’ जवाफ पनि धेरै व्यवसायीले दिने गरेका छन् । ‘बजारमा सस्तो सुन पाइन्छ, बैंकले महँगो लिन्छ,’ एक व्यवसायीले भने, ‘मार्जिन कम हुने भएपछि बैंकको सुन कसले किन्छ त ?’

सुनचाँदी व्यवसायीहरूले गत आर्थिक वर्षमा सुनको माग कम हुनुका चार कारण बताएका छन् । सुनको भाउमा उच्च वृद्धि हुनुलाई उनीहरूले पहिलो कारण मानेका छन् । गत फागुनमा ४८ हजारको हाराहारीमा भएको सुनको भाउ त्यसयता बढेर ५८–६० हजार रुपैयाँ पुग्यो । एक्कासि भाउ बढेपछि ग्राहकले सुन किन्नभन्दा भएको सुन बेच्न थालेको शाक्यले बताए । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा उतार–चढाव आएपछि नेपाली ग्राहकले पनि सुन किन्न प्रतीक्षा गर्न थालेको व्यवसायीहरू बताउँछन् । सुन बेचेर सेयर बजारमा लगानी गर्ने र भूकम्पपछिको पुनर्निर्माणमा खर्च जुटाउन पनि ग्राहकले सुन बेच्न थालेको उनले बताए ।

सुनका थोक कारोबार गर्ने व्यवसायीहरू पनि अहिले उपत्यकाबाहिरबाट बढी माग आउँदा बैंकको सुन बिक्री हुन थालेको बताउँछन् । ‘काठमाडौंमा न्युरोडबाहेक अन्यत्र अझै पनि सुनको कारोबार बढ्न सकेको छैन,’ अर्का एक व्यवसायीले भने । महासंघ पूर्वअध्यक्ष शाक्यका अनुसार अहिले सुनको माग दैनिक १५ किलोको हाराहारीमा पुगेको छ । ‘केहीअघिसम्म दैनिक १० किलो मात्रै माग थियो,’ उनले भने, ‘त्यो माग फिर्ता सुनले नै धान्दै आएको थियो ।’

बैंकको सुन बिक्री नभएको भन्दै सरकारले विदेशबाट काँचो सुन आयातमा प्रतिबन्ध लगाएपछि सुनको आन्तरिक माग बढ्न सहयोग पुगेको बैंकरहरू बताउँछन् । सरकारले गत १ साउनदेखि लागू हुने गरी विदेशबाट फर्किने नेपालीले काँचो सुन ल्याउन नपाउने र तयारी गहना ५० ग्रामभन्दा बढी ल्याउन नपाइने कानुन बनाएको थियो । औपचारिक माध्यमबाट सुनको आयात ठप्प भएपछि चालिएको सरकारको उक्त कदमले बैंकको सुन बिक्न थालेको एक बैंकरले बताए । नयाँ पत्रिका दैनिक