यात्रुको ज्यान जाने दुर्घटना गराउँदा आजीवन सवारी चलाउन नपाउने

काठमाडौँ । यात्रुको मृत्यु हुने गरी दुर्घटना गराउने चालकले आजीवन सवारीसाधन चलाउन नपाउने भएका छन् । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले दुर्घटना रोक्न यो व्यवस्थासहित नयाँ कानुन बनाउन लागेको छ ।

यातायात व्यवस्था विभागले नयाँ प्रावधानसहितका सवारी तथा यातायात व्यवस्था नियमावली संशोधनको प्रस्ताव मन्त्रालयमा पठाइसकेको छ । हाल ऐनको मस्यौदामा गृहकार्य गरिरहेको छ । ‘धेरै देशमा यात्रु तथा पैदलयात्रुको मृत्यु हुने गरी दुर्घटना गराएमा आजीवन लाइसेन्स खारेज हुने प्रावधान छ,’ यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले भने, ‘हामीले पनि आजीवन लाइसेन्स खारेजको प्रस्ताव गरेका छौँ ।’

विभागले यातायातसम्बन्धी ऐन र नियमावली संशोधन गर्न लागेको छ । नियमावली संशोधनको मस्यौदा मन्त्रालयमा बुझाइएको र ऐन संशोधनको मस्यौदामा छलफल भइरहेको महानिर्देशक श्रेष्ठले बताए । दुई साताअघि काभ्रेको बिर्तादेउरालीमा भएको बस दुर्घटनापछि मन्त्रालयले कानुन संशोधन गरेर कडाइ गर्न लागेको हो ।

रुट परमिट नलिई सवारी चलाउने, क्षमताभन्दा धेरै यात्रु राख्नेलाई कडा कारबाही गर्न लागिएको छ । त्यस्तै, यात्रु बोक्ने सवारीले सामान बोकेमा तथा सामान बोक्ने सवारीसाधनले यात्रु बोकेमा पनि जरिवाना बढाइने महानिर्देशक श्रेष्ठले बताए । धेरैजसो दुर्घटना क्षमताभन्दा धेरै यात्रु बोक्दा हुने गरेको छ । आइतबार अर्घाखाँचीमा जिप पनि क्षमताभन्दा धेरै यात्रु बोकेकोमा दुर्घटनामा परेको थियो ।  नयाँ पत्रिका दैनिक