नेपाली क्रिकेटको समस्या समाधान हुँदै, यसरी सुरु भएको थियो विवाद

काठमाडौँ । पदाधिकारीबीचको आन्तरिक झगडा, दुई कार्यसमितिबीचको आधिकारिकता विवाद, पछिल्लो पाँच महिनायता अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को निलम्बनलगायत कारणले लामो समयदेखि अन्योलग्रस्त नेपाली क्रिकेटले चाँडै निकास पाउने सम्भावना देखिएको छ ।

घरेलु खेलकुदको सर्वोच्च संस्था राष्ट्रिय खेलकुद परिषद् (राखेप) को पहलमा नेपाली क्रिकेटको समस्या समाधानका लागि अन्तर्राष्ट्रिय जिम्मेवार निकाय आईसीसी गम्भीर देखिएको छ । त्यसका लागि आईसीसीको उच्चस्तरीय टोली आगामी आइतबार (सेप्टेम्बर चारमा) नेपाल आउने भएको छ । राखेपले गरेको पहलपछि आईसीसीका प्रमुख कार्यकारी डेभिड रिचर्डसनसहितको तीन सदस्यीय उच्चस्तरीय टोली नेपाल आउन लागेको हो ।

आईसीसीले राखेपलाई पठाएको पछिल्लो पत्रअनुसार आईसीसी टोलीमा प्रमुख कार्यकारी रिचर्डसनसँगै आईसीसीमा एसोसिएट्स सदस्य राष्ट्रहरूका अध्यक्ष इमरान ख्वाजा र आईसीसी अधिकारी अमर शेख छन् । टोलीले आइतबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल र खेलकुदमन्त्री दलजित श्रीपालीसँग भेट गर्ने इच्छा व्यक्त गरेको छ । रिचर्डसनले राखेपका सदस्यसचिव केशवकुमार बिष्टलाई सम्बोधन गरी लेखेको पत्रमा प्रधानमन्त्रीसँगको भेटलगत्तै एउटा कार्यदल गठन गर्ने प्रस्ताव गरेका छन् । यो कार्यदलले क्यानको जारी ऐनको समीक्षा गरी नयाँ ऐनको मस्यौदा गर्नेछ ।

रिचर्डसनका अनुसार आईसीसीकै अधिकारीको नेतृत्वमा रहने उक्त कार्यदलले बनाएको ऐनअनुसार नै क्यानमा नयाँ नेतृत्वका लागि स्वतन्त्र र निष्पक्ष निर्वाचन गरिने पत्रमा उल्लेख छ । ‘प्रधानमन्त्री र खेलकुदमन्त्रीलाई भेटी हामी आईसीसीकै अधिकारीको नेतृत्वमा एउटा कार्यदल बनाउनेछौं’, रिचर्डसनले पत्रमा लेखेका छन्, ‘उक्त कार्यदलले क्यानको वर्तमान ऐनको समीक्षा गर्नेछ र नयाँ ऐनको मस्यौदा गर्नेछ । सोही ऐनअनुसार क्यानको नयाँ नेतृत्वका लागि स्वतन्त्र र निष्पक्ष निर्वाचन हुनेछ ।’ रिचर्डसनले पत्रमा आफ्नो नेपाल भ्रमण र कार्यदल गठनलाई आईसीसीमा नेपाल क्रिकेट संघ (क्यान) को सदस्यता पुनः प्राप्तिको महत्वपूर्ण कदमसमेत भनेका छन् । नेपाली क्रिकेटको नियमनकारी निकाय क्यान पछिल्लो ९२ दिनयता आईसीसीको निलम्बनमा छ ।

क्रिकेट पदाधिकारीबीचको आन्तरिक विवादसँगै जन्मिएको दुई समानान्तर संस्थाका कारण क्यान गत वैशाख १२ गते आईसीसीको निलम्बनमा परेको हो । निवर्तमान अध्यक्ष टंक आङ्बुहाङलगायत केही सदस्यको विरोध हुँदाहुँदै एक समूहले साधारणसभामार्फत चतुरबहादुर चन्दको नेतृत्वमा निर्वाचित समिति बनाएको थियो । तर राखेपले जिल्ला प्रतिनिधि छनोट पारदर्शी नभएको र आफ्नो निर्देशनविपरीत साधारणसभा गरेको भन्दै रमेश सिलवालको नेतृत्वमा तदर्थ समिति गठन गरेको थियो ।

दुई समानान्तर समिति अस्तित्वमा आएसँगै क्यान थप विवादित बनेको थियो । सोही कारण आईसीसीले नेपाली टोलीलाई अन्तर्राष्ट्रिय सहभागिताको अनुमति दिने तर क्यानलाई निलम्बन गर्ने निर्णय गरेको थियो । अन्नपूर्ण पोस्ट