उपत्यकामा दैनिक ७० भन्दा बढीलाई कुकुरले टोक्छन्

काठमाडौँ  । टेकुस्थित शुक्रराज सरूवा रोग तथा ट्रपिकल अस्पतालमा दैनिक सय जनाभन्दा बढी कुकुरले टोकेका पीडित उपचारका लागि आउने गरेका छन् ।

तीमध्ये भुस्याहा कुकुरले टोकेका ७० भन्दा बढीले एन्टिरेबिज भ्याक्सिन लगाउने गरेका छन्। अस्पतालले दिएको जानकारीअनुसार पछिल्लो चार महिनामा आठ हजार दुई सय २८ जनाले एन्टिरेबिज भ्याक्सिन लगाएको छ ।

साउन महिनामा एक हजार नौ सय ३१ जनाले सो भ्याक्सिन लगाएको अस्पतालले जनाएको छ। कुकुरको टोकाइकै कारण पाँच वर्षमा ९३ हजार ६ सय ७५ जना पीडित भएको अस्पतालको तथ्यांक छ ।

काठमाडौं महानगरपालिकाका अनुसार उपत्यकामा २२ हजारभन्दा बढी भुस्याहा कुकुर रहेका छन् । भुस्याहा कुकुरको संख्या बढ्न नदिन महानगरले भ्यासेक्टोमी र बन्ध्याकरण अभियान सुरु गरेको स्वास्थ्य विभागका प्रमुख हरिकुमार श्रेष्ठ बताउँछन् । नयाँ पत्रिका