उपचार खर्च अभावमा अस्पतालमै आत्महत्या

काठमाडौँ  । नेता तथा पहुँचवाला व्यक्तिको उपचारमा हरेक वर्ष सरकारले करोडौँ रकम बाँडिरहँदा एक युवकले भने उपचार खर्च अभावमा अस्पतालमै आत्महत्या गरेका छन्।

दोलखा मालुका १९ वर्षीय विजय खड्काले मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालको तीन तलामाथिबाट हामफालेर आत्महत्या गरेका हुन्। दुवै मिर्गौला फेल भएका खड्काले त्रिवि शिक्षण अस्पतालमा डायलोसिस गराउँदै आएका थिए।

डेढ वर्षयता उनले सातामा तीन दिन गराउनुपर्नेमा दुई दिन निःशुल्क र एक दिन आफ्नै खर्चमा डायलसिस गराउँदै आएका थिए। सातामा उनको तीन हजार रुपैयाँ खर्च हुने गरेको थियो। तर, परिवारको आर्थिक अवस्था कमजोर भएकाले उनलाई उपचार खर्च जुटाउन समस्या थियो। ‘मिर्गौला प्रत्यारोपण गर्ने हामीसँग पैसा थिएन,’ मृतकका दाजु सुमित खड्काले भने, ‘साथीभाइ र आफन्तहरूसँग मागेर उपचार गराउँदै आएका थियौँ।’ परिवारले विजयलाई अस्पतालमा आइतबार, मंगलबार र शुक्रबार डायलोसिसका लागि लैजाने गरेका थियो।

मंगलबार र शुक्रबार निःशुल्क हुन्थ्यो भने आइतबार करिब तीन हजार खर्च लाग्थ्यो । साथीभाइसँग मागेर डायलोसिस गराउँदै आएको सुमितले बताए। ‘उपचार खर्चको अभाव देखेरै उसले हामफालेको हुनुपर्छ,’ सुमितले भने, ‘हामीसँग उपचार खर्च भएको भए यस्तो अवस्था आउँदैन थियो होला।’ साताको एकपटक डायलोसिस गर्दा तीन हजार, काठमाडौंमा भाडामा बस्दा महिनाको सात हजार र त्यति नै खानपानमा खर्च हुँदा ऋण थपिँदै गएको दाजु विनीत खड्काले बताए।

उपचारमा समस्या भएपछि विजय केही दिनयता तनावमा रहेको र त्यही तनावमा उनले हाफफालेको हुनसक्ने पारिवारिक स्रोतले बतायो। उनको बेडमा फेला परेको सुसाइड नोटमा आफूले हामफालेर आत्महत्या गर्न लागेको उल्लेख छ। तर, अस्पतालको झ्यालमा ग्रिल नहुँदा घटना भएको भन्दै आफन्तले अस्पतालप्रति असन्तुष्टि जनाएका छन्। विजयले मंगलबार बिहान करिब एक बजे अस्पतालको झ्यालबाट हामफालेर आत्महत्या गरेका हुन्। ‘म भुइँमा सुतिरेहको थिएँ,’ दाजु सुमितले भने, ‘ब्युँझिएर हेर्दा त ऊ तल भुइँमा मृत अवस्थामा भेटियो ।’ नयाँ पत्रिका