नेपाल–भारत वाणिज्य सन्धि जस्ताको तस्तै पारित गर्ने

काठमाडौँ । गत वर्षको नाकाबन्दी पछि दुई देशबीच सम्बन्ध चिसिएका बेला ७ वर्षमा नविकरण हुने नेपाल–भारत व्यापार सम्झौता जस्ताको तस्तै पारित हुने भएको छ।

दुवै देशले हालसम्म संशोधन प्रस्ताव नराखेका कारण कुनै फेरबदलबिनै पारित गर्ने तयारी छ। सम्झौताको म्याद सकिन डेढ महिनामात्रै बाँकी हुँदा पनि दुवै देशबाट संशोधन परेको छैन ।

‘सन्धि स्वचालित रुपमै नविकरण हुन्छ, हाल सन्धिमा जे छ त्यही नै हुन्छ’, वाणिज्य मन्त्रालयका सहसचिव तथा प्रवक्ता रविशंकर सैंजुले भने, ‘तत्काल संशोधनको कुनै योजना छैन।’

सैंजुका अनुसार परिमार्जन आवश्यक भए म्याद सकिनु ३ महिना अगाडि आशयपत्र एकअर्कालाई बुझाउनुपर्ने हुन्छ । आशयपत्र नभए स्वतः नविकरण हुन्छ। कान्तिपुर