चीनसँग असमझदारी छैनः प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले उत्तरी छिमेकी चीनसँगको सम्बन्धमा कुनै असमझदारी नरहेको बताएका छन् ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले नयाँदिल्लीमा पत्रकारहरूसँग शनिबार भने, ‘हाम्रो चीनसँगको सम्बन्धमा कुनै तलमाथि भएको छैन ।’ चीनसँगको सम्बन्ध किन बिग्रेको हो भन्ने भारतीय पत्रकारको प्रश्नमा दाहालले यस्तो बताएका हुन्।

चिनियाँ राष्ट्रपति सी जिनपिङको अक्टोबरमा प्रस्तावित नेपाल भ्रमण स्थगित भएको सम्बन्धमा एक पत्रकारले सोधेको प्रश्नमा दाहालले भने, ‘चीनबाट उच्चस्तरीय भ्रमण तय हुन सकिरहेको छैन । पहिले पनि भ्रमण हुने निर्णय भएको थिएन । हामी चीनबाट उच्चस्तरीय भ्रमणका लागि तयार छौं । हामीलाई विश्वास छ चीनबाट चाँडै उच्चस्तरीय भ्रमण हुनेछ ।’ उनले छिमेकी मुलुकहरू भारत र चीनसँगको सम्बन्धलाई सरकारले प्राथमिकतामा राखेको बताए ।

दाहालले आफ्नो भ्रमणबाट भारतसँगको सम्बन्ध नयाँ धरातलमा विकसित भएको दाबी गरेका छन् । ‘प्रधानमन्त्री मोदीजीसँग यसपटक खुलेर दिलबाट कुरा भएको छ । विश्वासको आधार बनेको छ । उहाँ नेपालप्रति अत्यन्तै सकारात्मक हुनुहुन्छ’, नयाँदिल्लीस्थित होटल ताज प्यालेसमा शनिबार दाहालले भने, ‘मेरो भ्रमणले नेपाल र भारतबीचको सम्बन्ध नयाँ धरातलमा उठाउन आधार तयार गरेको छ ।’

भारतले अझै पनि नेपालको नयाँ संविधानको पूर्ण स्वागत गरेन नि भन्ने प्रश्नमा दाहालले स्पष्ट जबाफ दिन सकेनन् । उनले भने, ‘संविधान हाम्रो आन्तरिक विषय हो । हिजै जारी भएको नेपाल–भारत संयुक्त वक्तव्य हेर्दा स्पस्ट थाहा हुन्छ, उहाँहरूले हाम्रो संविधानलाई कसरी लिनुभएको छ । यसलाई कसैले बंग्याएर व्याख्या गर्नु उचित हुँदैन । भाषा आफैं प्रस्ट छ ।’ अन्नपूर्ण