मेडिकल कलेजहरूको अर्को बेइमानी– प्रवेश परीक्षा नहुँदै धमाधम भर्ना

काठमाडौँ । सिनामंगलको काठमाडौं मेडिकल कलेजले एक भारतीय विद्यार्थीलाई प्रवेश परीक्षामा सहभागी हुन १० लाख भारु (१६ लाख रुपैयाँ) जम्मा गर्न विद्यार्थीका अभिभावकलाई दिएको पत्र हो यो। नेपाल मेडिकल काउन्सिलले सन् २०१६ का लागि अहिलेसम्म मेडिकल कलेजहरूको सिट निर्धारण गर्न सकेको छैन ।

काठमाडौं विश्वविद्यालयले पनि नेपाली विद्यार्थीसँग भर्ना आवेदन लिने र प्रवेश परीक्षाको मिति तोक्ने काम सुरु गरेको छैन । मेडिकल कलेजले भने विदेशी विद्यार्थीलाई धमाधम खातामा रकम बुझाउन ताकेता गर्दै पत्र काटिरहेका छन्।

काठमाडौं मेडिकल कलेजकी प्रिन्सिपल चन्दा कार्कीले भने प्रवेश परीक्षाअघि विद्यार्थीलाई डिपोजिट गर्न पत्र नकाटिएको दाबी गरिन्। ‘भर्ना हुन चाहेका विदेशी विद्यार्थीहरूलाई हामीले फर्म भराएका छौं, प्रवेश परीक्षाका बारेमा कोचिङ क्लास पनि दिएका छौं,’ कार्कीले भनिन्, ‘प्रवेश परीक्षाअघि शुल्क माग्ने कुरै हुँदैन, उनीहरूसँग एक पैसा पनि मागेको र लिएको पनि छैनौं ।’

सिट बुकिङ गर्न १६ लाख

काठमाडौं विश्वविद्यालयअन्तर्गतका अधिकांश मेडिकल कलेजहरूले सिट निर्धारण र प्रवेश परीक्षा नहुँदै विदेशी विद्यार्थी ‘बुकिङ’ गरिरहेका छन् । स्रोतका अनुसार नेपाल मेडिकल कलेजमा २८ जना भारतीय विद्यार्थीले नाम बुकिङ गरिसकेका छन् ।

काठमाडौं मेडिकल कलेजले दुई सातादेखि ती विद्यार्थीलाई प्रवेश परीक्षाको तयारी कक्षा सञ्चालन गर्न थालिसकेको छ । बुकिङका लागि १० लाख (भारतीय रुपैयाँ) बुझाएका उनीहरूले पास भएपछि थप १५ लाख भारु (२४ लाख रुपैयाँ) बुझाउनुपर्नेछ । एमबीबीएसका लागि केएमसीले कुल ४४ लाख रुपैयाँ लिइरहेको छ ।

चितवनको कलेज अफ मेडिकल साइन्सेजले ४६ लाख रुपैयाँ भारु (करिब ७४ लाख रुपैयाँ) रुपैयाँ शुल्क तोकेर धमाधम भारतीय विद्यार्थी बुकिङ गराइरहेको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा पनि श्रीलंका र भारतका विद्यार्थीले ‘बुकिङ’ गराइरहेका छन् ।

नेपालगन्ज मेडिकल कलेजमा करिब ५० जना भारतीय विद्यार्थीले बुकिङ गरिरहेका छन् । विराटनगरको विराट मेडिकल कलेजमा २५ भन्दा बढी विदेशी विद्यार्थीले नाम रजिस्ट्रेसन गराएका छन् । शुक्रबारदेखि प्रवेश परीक्षाको तयारी कक्षा सुरु गर्न लागेको नोबेल मेडिकल कलेजमा ६० जनाभन्दा बढी विदेशी विद्यार्थी आएका छन्, जसमध्ये ३० जनाभन्दा बढी माल्दिभ्सका छन् ।

नेपाल मेडिकल काउन्सिलको नियमअनुसार मेडिकल कलेजहरूले मनोमानी ढंगले विदेशी विद्यार्थी भर्ना गर्न पाउँदैनन् । नेपाली विद्यार्थी उपलब्ध नभएमा मात्रै विदेशी विद्यार्थी भर्ना गर्न पाउने नियम छ । तर, विश्वविद्यालयले आँखा चिम्लिँदा कलेजहरूले धमाधम विदेशी विद्यार्थीसँग प्रवेश परीक्षाअघि नै मोटो रकम लिइरहेका छन् । कान्तिपुर