पार्टी एकलौटी नचलाउन देउवालाई पौडेलको चेतावनी

काठमाडौँ । नेपाली कांग्रेसले भागबन्डा नमिल्दा राज्यमन्त्री चयन गर्न सकेको छैन । नेता रामचन्द्र पौडेलले मन्त्री चयनमा झैं राज्यमन्त्रीमा पनि सभापति शेरबहादुर देउवासमक्ष ‘सम्मानजनक हिस्सा’ खोजेका छन्।

महिला संघको महाधिवेशनपछि संवादै हुन छोडेको बेला बिहीबार नेता पौडेल राज्यमन्त्रीको भाग खोज्दै सभापति देउवाको निवासमा पुगेका थिए । पौडेलले बूढानीलकण्ठस्थित देउवा निवास पुगेरै राज्यमन्त्री, पार्टीमा मनोनय गर्न बाँकी रहेका पदाधिकारी, केन्द्रीय सदस्य र राजनीतिक नियुक्तिमा सल्लाह गरेर मात्र निर्णय गर्न ध्यानाकर्षण गराएका थिए ।

“पार्टी एकलौटी ढंगले चल्दैन । सबैलाई मिलाएर लैजानुपर्छ,” पौडेलको भनाइ उद्धृत गर्दै उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले भने, “त्यसका लागि तपाईं (सभापति)ले ठूलो छाती गर्नुपर्छ ।”

उनले महिला संघ र नेपाल विद्यार्थी संघको महाधिवेशनमा नेता कृष्णप्रसाद सिटौलाको भूमिकालाई लिएर यस्तो भनेका हुन् । दुवै भ्रातृ संगठनको निर्वाचनमा सिटौला पक्षले संस्थापनसँग सहकार्य गरेको थियो । जवाफमा देउवाले सबैलाई मिलाएर आफू अघि बढ्ने बताएका थिए ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारको मुख्य साझेदार कांग्रेसले आफ्नो भागमा परेको सात राज्यमन्त्री अहिलेसम्म पनि पठाउन नसकेको हो ।

पौडेलले यसअघि कांग्रेसको भागमा परेको १५ मन्त्रालयमा पाँचवटा मात्र लिएको भन्दै चार राज्यमन्त्री पाउनुपर्ने अडान लिएका छन् । देउवा समूहमा पनि राज्यमन्त्रीका आकांक्षी धेरै हुँदा व्यवस्थापन चुनौतीपूर्ण देखिएको छ । माओवादी केन्द्रले चार राज्यमन्त्री चयन गरिसकेको छ ।

राज्यमन्त्रीका लागि देउवातर्फ मीन विश्वकर्मा, दीर्घराज भाट, अब्दुल रज्जाक, दिलीप गच्छदार, सुवर्ण ज्वारचन, आङ्तावा शेर्पा, ध्रुव वाग्ले, सीताराम मेहता र पौडेलतर्फ कञ्चन बादे श्रेष्ठ, सरिता प्रसाईं, सुरेन्द्र आचार्य, जीवन परियार, सञ्जय गौतमको नाम चर्चामा छ । कारोबार दैनिक