नेपालले दियो भारतलाई खुसी पार्ने र पाकिस्तानलाई चिढाउने वक्तव्य

काठमाडौँ  । नेपालले सार्क शिखर सम्मेलन छिट्टै आयोजनाको वातावरण बनाउन सबै सदस्य राष्ट्रहरूसँग सार्थक परामर्श थाल्ने बताएको छ ।

तर त्यसका लागि पूर्वसर्तका रूपमा सबै सदस्य राष्ट्रहरूले सबै किसिमको आतंकवादविरुद्ध प्रतिबद्ध हुनुपर्ने अडान राखेको छ । विगत पाँच दिनमा तेस्रोपल्ट जारी गरेको वक्तव्यमा परराष्ट्र मन्त्रालयले नोभेम्बर ९ र १० मा इस्लामाबादमा प्रस्तावित शिखर सम्मेलन आयोजक पाकिस्तानले स्थगित भएको जानकारी दिएपछि नेपालले सबै सदस्य राष्ट्रहरूको सहभागिता सुनिश्चित हुने गरी अर्को सम्मेलनको सार्थक प्रयास गर्ने उल्लेख गरेको छ ।

परराष्ट्र मन्त्रालयले आइतबार निकालेको तेस्रो वक्तव्यमा ‘नेपालले सार्थक क्षेत्रीय सहकार्यका लागि शान्ति र स्थिरताको वातावरण अत्यावश्यक रहेकोमा जोडदार रूपमा विश्वास गर्छ’ भनिएको छ ।

वक्तव्यमा निर्धारित मितिमा सार्क शिखर सम्मेलन आयोजना गर्न सुहाउँदो क्षेत्रीय वातावरण नबनेकामा पश्चात्ताप व्यक्त गरिएको छ । सार्क आयोजक देश पाकिस्तानले सम्मेलन स्थगन गरेको सम्बन्धमा सार्क अध्यक्ष देश नेपाललाई जानकारी गराएको मन्त्रालयले उल्लेख गरेको छ ।

वक्तव्यमा परराष्ट्र मन्त्रालयले अप्रत्यक्ष रूपमा भारतको साथ दिँदै भनेको छ, ‘सार्कको अध्यक्ष हुनुका नाताले नेपाल सुहाउँदो क्षेत्रीय वातावरण निर्माण गर्न आवश्यक छ भन्ने विषयमा जोड दिन्छ ।’

वक्तव्यमा नेपालले भारत र पाकिस्तानबीच सीमामा एकअर्काका सैनिकमाथि गरिरहेको आक्रमणपछि उत्पन्न तनावलाई इंगित गर्दै धारणा राखेको छ । पाकिस्तान र भारतबीच विगतमा युद्ध या सीमा तनाव हुँदा परराष्ट्र नीतिमा असंलग्नताको सिद्धान्तअनुसार सधैं आफूलाई तटस्थ र निष्पक्ष राख्दै आएको नेपालले यसपटक भने पाकिस्तान र भारतबीचको विवादमा भारतको धारणासँग निकट रहने गरी धारणा व्यक्त गरेको छ ।

‘यस क्षेत्रमा स्थिरता र शान्ति हासिल गर्नका लागि सार्कका सदस्य देशले तथा अन्य देशले पनि आफ्ना भूभाग आतंककारीहरूले सीमापार अपराधका लागि प्रयोग नगरून् भन्ने कुराको सुनिश्चितता गर्नुपर्छ’, परराष्ट्रले भनेको छ ।

वक्तव्यको अन्तिममा नेपालले सबै स्वरूप र प्रकृतिका आतंकवादको स्पष्ट रूपमा भत्र्सना गर्ने उल्लेख गर्दै आतंकवादविरुद्धको विश्व लडाइँमा नेपालको ऐक्यबद्धता रहेको उल्लेख छ । नेपालले दक्षिण एसिया क्षेत्रमा भएका सबै आतंकवादी गतिविधिको निन्दा गर्दै आएको वक्तव्यमा लेखिएको छ ।

‘हालैमात्र पनि नेपालले कस्मिरको उरीमा भारतीय सैनिकहरूको ज्यान जाने गरी भएको भारतीय सैनिक बेसमा भएको आतंककारी घटनाको निन्दा गरेको छ’, वक्तव्यमा भनिएको छ ।

परराष्ट्रमन्त्री प्रकाशशरण महतले अमेरिकाबाट फर्केलगत्तै विमानस्थलमा शनिबार बिहान सार्क सम्मेलन आयोजना गर्न आयोजक देश पाकिस्तानले आवश्यक वातावरण बनाउनुपर्ने बताएका थिए ।

सार्क शिखर सम्मेलन आयोजनाका लागि भारतलगायत सबै देशसँग पहल गर्न प्रभावकारी भूमिका खेल्ने काममा नेपाल सरकार चुकेको परराष्ट्र मामिलाका जानकार डा. राजन भट्टराईले बताए ।

‘नेपालले तोकिएकै मितिमा सार्क शिखर सम्मेलन गर्नका लागि अहिलेको सार्क अध्यक्ष देशको नाताले जिम्मेवार भूमिका खेल्नुपर्नेमा सरकार असफल भएको देखियो’, उनले भने । अन्नपूर्ण पोस्ट