‘चिल-आँखा’ मा राजधानी सुरक्षा

काठमाडौँ । दसैं आयो, खाउला-पिउँला

कहाँ पाउला

चोरी ल्याउला….!

दसैं छेको गाइने नेपाली समाजमा प्रचलित यो बाल गीतले एउटा सत्य बोल्छ। दसैंका बेला गाउँ सहरमा  चोरी डकैती बढ्छ। विगतका घटनाले पनि यसलाई पुष्टी गर्दै आएका छन्।

उपत्यकामा दसैंका बेला बढ्न सक्ने चोरी डकैतीलगायत अपराधिक घटनाप्रति यसपाली भने प्रहरी अलिक बढी नै चनाखो बनेको छ।

यस्ता घटना नियाल्न उसले चिलको साथ लिएको छ। इगल आइ नाम दिइए पनि प्रहरीको यो अभियानमा चिल नामक पन्छी भने सक्रिय हुनेछैन। चिलले आकाशमा कावाँ खाँदै जमिनका चल्ला नियालेझैं चाडपर्वका बेला भिडभाडमा हुनसक्ने लुटपाट, चोरी, झै झगडालाई ‘ईगल आई’ नाम दिइएका ३ सय ३५  वटा सिसिटिभी क्यामेरेलाई नियाल्नेछन्। र प्रहरीलाई झटपट घटनास्थल पुग्न सघाउनेछन्।

काठमाडौंका चोक, बजार र गल्लीमा हुने भिडभाडका गतिविधि रेकर्ड गर्न थालिसकिएको, गतिविधि शंकास्पद देखिए तत्काल नजिकको प्रहरी घटनास्थल पुग्ने सुरक्षा रणनीति काठमाडौं प्रहरीले लिएको छ ।

महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी विक्रमसिंह थापाले पछिल्ला तीन दिन भिडभाडमा सम्भावित घटना नियन्त्रण र रोकथाम गर्न सिसिटिभी प्रभावकारी भएको बताए । उनका अनुसार बढी चहलपहल हुने न्युरोड, असन, बागबजार, पुतलीसडक र दरबारमार्गमा रहेका सिसिटिभीको निरन्तर निगरानी भइरहेको छ ।

३० लाख चलायमान जनसंख्या रहेको काठमाडौंमा चाडपर्वकेन्द्रित विशेष सुरक्षाका लागि ३ हजार २ सय ४३ प्रहरी अपुग हुने भएपछि प्रविधिको सहयोग लिइएको हो । प्रहरीले ‘इगल आई’ बाहेक परिसरअन्तर्गत रहेका वृत्त, प्रभाग र पोस्टमा रहेका मोटरसाइकल र गाडीलाई दिनरात पालैपालो चलायमान बनाएको छ ।

‘हामीले करिब २ सय मोटरसाइकल २४सै घन्टा फिल्डमा खटाएका छौं जुन प्रभावकारी भइरहेको छ,’ एसपी प्रद्युम्न कार्कीले नागरिकसँग भने । उनका अनुसार घटनाको जानकारी लिन र दिन प्रहरीले सञ्चालन गरेका निःशुल्क नम्बर र सामाजिक सञ्जाल तथा पुलिस एप्सको समेत मिनेट–मिनेटमा मोनिटरिङ भइरहेको छ । नागरिक