काष्ठमण्डपको निर्माण ६८१ वर्षअघि

काठमाडौँ । काष्ठमण्डपको निर्माण ६८१ वर्षअघि भएको तथ्य फेला परेको छ। भूकम्पले भत्काएको काष्ठमण्डपको काठ व्यवस्थित गर्ने क्रममा हनुमानढोका दरबार हेरचाह अड्डामा राखिएको थाममा सो मिति उल्लेख भएको ताम्रपत्र भेटिएको छ ।

तीनवटा सँगसँगै रहेका ताम्रपत्रमा नेपाल संवत् ४५४, नेपाल संवत् ४९१ र नेपाल संवत् ५४३ कुँदिएको पाइएको छ ।  अहिले नेपाल संवत् ११३६ चलिरहेको छ ।  ताम्रपत्रमा लेखिएका अन्य विवरण अध्ययनको क्रममा छ ।  हनुमानढोका दरबार अड्डा प्रमुख सरस्वती सिंहका अनुसार अध्ययन टोलीको प्रतिवेदन आएपछि अन्य विवरण सार्वजनिक हुनेछ ।

पुरातात्वविद्द्वय मुकुन्दराज अर्याल र शुक्रसागर श्रेष्ठले यसको अध्ययन गरिरहेका छन्।  यसअघि लिखित अभिलेख नपाएर अनुमानित गणनाबाट काष्ठमण्डप निर्माणकालको आँकलन गरिँदै आएको थियो ।  उक्त ताम्रपत्र आँखा नपर्ने गरी मण्डपको अग्लो भागको थाममा पाइएको छ ।  काष्ठमण्डप भत्केर छरिएका काठ, थाम, निदाल पुनःनिर्माणका लागि सिलसिलेवार मिलाउने क्रममा ताम्रपत्र पाइएको हो ।  काष्ठमण्डपको पुनःनिर्माण कार्य काठमाडौँ महानगरपालिकाले गर्दैछ ।

हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सरस्वती सिंहले ताम्रपत्रको लिपि अध्ययनपछि पुरातìवविद्बाट मण्डपबारे सत्यतथ्य विवरण सार्वजनिक हुने बताए।

काष्ठमण्डपलाई एउटै रूखको काठबाट बनेको मण्डप भनिँदै आएको छ ।  बेलायतको दुरहाम युनिभर्सिटीका पुरातìवविद्ले केही महिनाअघि काष्ठमण्डपको जगमा सुनका पाता तथा केही मुद्रा पाएका थिए ।  यी सामग्री पुरातìव विभागमा सुरक्षित छन् ।  काष्ठमण्डपबाटै अपभ्रंश भई काठमाडौँ भनिएको हो भनिन्छ ।

हनुमानढोका दरबार क्षेत्रमा वसन्तपुर गद्दी बैठक, माजुदेगल, कृष्ण मन्दिर, कागेश्वरीलगायत आधा दर्जन सम्पदा भूकम्पले भत्किएका छन् ।  यीमध्ये तलेजु भवानी मन्दिरको छाना गजुर मिलाएर आवश्यक मर्मत कार्य हेरचाह अड्डाबाट भइरहेको छ ।  पञ्चमुखी हनुमान पुनःनिर्माण सम्पन्न भएको छ भने दिगु तलेजु पनि निर्माण सम्पन्न भएको छ ।  सिंह सत्तलको साठी प्रतिशत पुनःनिर्माण कार्य सकिएको छ ।  गद्दी बैठक अमेरिकी सांस्कृतिक संरक्षण अन्तर्गत राजदूत कोषको सात करोड रुपियाँको अनुदानमा पुनःनिर्माण घोषणा गरिएको छ । गोरखापत्र