प्रदेश राजधानी तोक्न किन ढिलाइ ?

काठमाडौँ । सरकारले चैतभित्र स्थानीय तहको निर्वाचन गर्ने कार्ययोजना बनाएको छ । त्यसपछि प्रदेश सभाको निर्वाचन हुनेछ । प्रदेशको निर्वाचनअघि राजधानी तोकिनुपर्ने संवैधानिक व्यवस्था छ । तर, यस विषयमा दलहरूबीच छलफलसमेत चलेको छैन ।

प्रदेशको राजधानी तोक्नेबारे अहिलेसम्म कुनै छलफल नै नभएको पूर्वकानुनमन्त्री तथा एमाले नेता अग्नि खरेलले बताए । ‘संविधान कार्यान्वयनको महत्वपूर्ण बुँदा प्रदेशको राजधानी तोक्ने पनि हो, तर यसबारे अहिलेसम्म छलफल भएको छैन,’ उनले नयाँ पत्रिकासँग भने ।

माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले पनि तत्काल प्रदेशको राजधानी तोक्नेबारे छलफल नभएको बताए । ‘पार्टीभित्र उच्च अदालत गठन गर्नेबारे छलफल भएको थियो, तर प्रदेशको राजधानी तोक्नेबारे छलफल भएको छैन,’ उनले भने ।

सरकारले प्रदेश सभाको निर्वाचन कहिले गर्ने भन्ने कार्ययोजना सार्वजनिक गरेको छैन । तर, अघिल्लो सरकारले मंसिरमा स्थानीय तहको निर्वाचन गरी ०७४ वैशाखमा प्रदेश सभाको निर्वाचन गर्ने कार्ययोजना सार्वजनिक गरेको थियो । नयाँ पत्रिका