होटेलहरूमा खुलेआम ड्रग्स पार्टी

काठमाडौँ । दसैँको अष्टमी दिन सर्वसाधारण घरमा फूलपाती भित्राउन व्यस्त थिए । तर, केही युवायुवती काठमाडौंको दक्षिणतर्फको हात्तीवन रिसोर्टतर्फ लागिरहेका थिए । ठूलो संख्याका विदेशी पर्यटक हात्तीवन रिसोर्टमा जम्मा थिए । रिसोर्टमा दसैँको अवसरमा कुनै कार्यक्रम भएर उनीहरू गएका थिएनन्, ड्रग्स पार्टी आयोजना भएकाले उनीहरू रिसोर्टमा पुगेका थिए ।

हात्तीवन रिसोर्टमा आयोजित पार्टीमा गाँजा, चरेस मात्र होइन, एफफेटाइमानजस्ता महँगा लागुऔषधको समेत कारोबार र सेवन खुला गरिएको थियो । पार्टीमा सहभागीहरू बिहान २ बजेसम्म लागुऔषधमा लट्ठिएका थिए । नशाको तालमा चर्को गीत बजाएर उनीहरू नाचिरहेका थिए । २ बजे प्रहरीले जबर्जस्ती पार्टी बन्द गराएको थियो ।

लागुऔषध कारोबारको आरोपमा प्रहरीले रिसोर्टका मेनेजर तथा आयोजक तीनजनालाई पक्राउ गरेको थियो । तर, पर्याप्त प्रमाण नपुगेको भन्दै प्रहरीले उनीहरूलाई छाडेको छ । मुद्दा चलाउने आधार भए पनि दबाबका भरमा उनीहरू छुटेको स्रोत बताउँछ । तीन दिन प्रहरी हिरासतमा बसेपछि उनीहरू छुटेका थिए ।

लागुऔषध नियन्त्रण ब्युरो ९एनसिबी०का एसएसपी गणेश केसीले ड्रग्स पार्टी चलिरेहको सूचनाका आधारमा रिसोर्टमा छापा हानिएको बताए । तर, अप्रेसन सफल नभएको उनको भनाइ छ । स्रोतका अनुसार प्रहरीले सो पार्टीबाट केही एमफेटाइमान लागुऔषधसमेत बरामद गरेको थियो । गाँजा र चरेस त सबैजसोले सेवन गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पार्टीमा प्रवेशशुल्क नै एक हजार पाँच सय रुपैयाँ राखिएको थियो । होटेलमा बस्नेहरूलाई प्याकेजमा छुट दिइएको स्रोत बताउँछ । पहिलोपटक यस्तो पार्टीमा नेपाल प्रहरीले छापा हाने पनि प्रहरीले रिसोर्ट सञ्चालक र पार्टीका आयोजकलाई भने कारबाहीको दायरामा ल्याउन सकेन । नयाँ पत्रिका