चिनियाँ राष्ट्रपतिले भने -संविधान कार्यान्वयनका लागि आन्तरिक एकता होस

काठमाडौँ । चीनका राष्ट्रपति सी जिनपिङले नेपालमा गतबर्ष जारी भएको संविधानको कार्यान्वयनका लागि आन्तरिक एकता आवश्यक रहेको बताएका छन् ।

ब्रिक्स सम्मेलनमा भाग लिन भारतको गोवा आएका प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटमा चिनियाँ राष्ट्रपतिले यस्तो धारणा राखेका हुन । भेटमा प्रधानमन्त्री दाहालले नेपालमा जारी भएको संविधानको चीनले गतवर्ष स्वागत गरेकोमा खुसी प्रकट गर्दे धन्यवाद ज्ञापन गरेका थिए ।

‘चिनियाँ राष्ट्रपतिले आन्तरिक एकतामा जोड दिनुभयो । प्रधानमन्त्री दाहालले केही आन्तरिक असन्तुष्टिलाई सम्बोधन गर्दे सरकार संविधान कार्यान्वयनमा लागेको जानकारी गराउनुभयो,’भेटमा सहभागी परराष्ट्रमन्त्री डा प्रकाशशरण कान्तिपुरसँग भने ।विशेषतः मधेसवादी दलहरुले संविधानको सन्दर्भमा असन्तुष्टि व्यक्त गरिरहेका छन् ।

दाहाल र चिनियाँ राष्ट्रपतिबिचको भेटमा नेपाल,भारत र चीनको त्रिदेशीय साझेदारीको सन्दर्भमा समेत छलफल भएको छ । चीनले अगाडि बढाउन चाहेको यो अवधारणासँग प्रधानमन्त्री दाहाल पनि सहमत छन् । भारतले यो अवधारणालाई रुचाएको छैन ।