कार्कीको म्याद तामेली अझै भएन

काठमाडौँ । सर्वोच्च अदालतले लोकमानसिंह कार्कीको योग्यतासम्बन्धी फैसलाको पुनरावलोकन गर्ने आदेश दिएको एक महिना बित्दा पनि ‘ठेगाना पत्ता लगाउन नसकेको’ भन्दै सर्वोच्च प्रशासनले विपक्षी कार्कीको नाममा म्याद तामेल गर्न सकेको छैन ।

म्याद बुझ्न ढिलाइ गर्ने रणनीतिका साथ मुलुकको संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख कार्कीले विदेश भ्रमणकै दौरानमा थप बिदा स्वीकृत गराइसकेका छन् । ‘सकेसम्म तिहारअघि कुनै पनि हालतमा म्याद तामेल हुन नदिने रणनीति बनेको छ,’ सर्वोच्च स्रोतले भन्यो, ‘तामेलदार, महानगरपालिकाको वडा सचिवलाई अल्मल्याएर म्याद तामेलीमा ढिलाइ गर्ने योजना चलिरहेको छ ।’

घटस्थापनापछि सर्वोच्च अदालतले घरमै म्याद बुझाउन दुई पटक तामेलदार खटाएको थियो । गत १९ गते काठमाडौं महानगरपालिकाको १० नम्बर वडा सचिवको अनुपस्थितिका कारण म्याद तामेल हुन सकेन भने भोलिपल्ट तामेलदार नै सम्पर्कविहीन भए । त्यसपछि भने दसैं बिदा सुरु भएकाले म्याद तामेल हुन सकेन । नियमित रूपमा अदालत खुले पनि आइतबारसम्म म्याद तामेल भएको छैन । कान्तिपुर राष्ट्रिय दैनिक